नेकपा एकीकृत समाजवादी मोरङका सचिव राजन केसी
विराटानगर : नेकपा एकीकृत समाजवादी पार्टी मोरङमा असन्तुष्टि चुलिएको छ । पार्टीका गतिविधिहरु हुन छाडेपछि कार्यकताहरु निराश भएका छन् ।
पार्टी छाडेर गएका कतिपय नेताहरु अब के गर्ने भन्ने परिस्थितिमा पुगेको नेकपा एसका एक जना नेताले बताए । ती नेताका अनुसार जिल्लाका पार्टी सचिव राजन केसी झन्डै ९ महिनादेखि कुनै गतिविधिमा संलग्न छैनन् ।
पार्टीका जिल्ला अध्यक्ष चन्द्रविर राई पनि जिल्लाका गतिविधिमा फाट्टफुट्ट मात्रै देखा पर्छन् । नेताहरुका अनुसार उनी इमान्दार भएपनि काम गर्न सक्ने स्प्रिड भएका नेता होइनन् ।
नेकपा एमालेबाट समाजवादी बनेको केही समयपछि केही नेताहरु तत्कालीन प्रदेश सांसद उपेन्द्र घिमिरेलाई पार्टी अध्यक्ष बनाउन चाहन्थे । खास गरेर घनेन्द्र बस्नेत लगायतको टिम उनको पक्षमा थियो ।
यता, महेश रेग्मी आफूलाई सहज हुने गरी चन्द्रवीर राईलाई अध्यक्ष बनाउन चाहन्थे र उनकै चाहना अनुसार राई अध्यक्ष भए । त्यसपछाडीका गतिविधिहरु चुनाव केन्द्रित भएपनि चुनावपछि भने कार्यकर्ताहरु बाहिरिन थाले । र विस्तारै नेताहरुका कार्यशैली र निष्क्रियताका कारण मोरङ पार्टीनै भद्रगोल हुन पुग्यो ।
नेकपा एसका एक नेताले भने, ‘अहिले न गाउँ, न क्षेत्र कुनै पनि मिटिङ हुन छाडेको छ । यदाकदा भयो भने पार्टीका नेता महेश रेग्मी गएर भाषण गरेर फर्किने गरेका छन् ।’
एसका जिल्ला सचिव राजन केसीले भने आफू यतिखेर पार्टीको गतिविधिमा संलग्न नभएको स्वीकार गरे । उनले भने, ‘१२/१३ वटा भैसी छन् । भैसी पालेर बसेको छु । यसैमा रमाइलो छ ।’
पार्टी फुटको औचित्य पुष्टि नभएको र पार्टीभित्र आफ्नो केही असहमति रहेको बताउँदै केसीले भने, ‘नेताहरुले भ्रष्टाचार रोक्छु, सुशासुन दिन्छौँ भन्दै पार्टीलाई सही ढंगले अगाडि बढाउने भन्दै पार्टी फुटाए तर त्यसको औचित्य अहिले आएर पुष्टि हुन सकेन । उही पुरानै ढर्रा र गतिमा पार्टी गयो । नेताहरुले फट्याई गरे ।’
उनले अहिले नै पुरानो पार्टी एमालेमा फर्किने कुनै सोच नबनाएको समेत स्पष्टीकरण दिए ।
जिल्ला अध्यक्ष राईले नेपालका सबै पार्टीहरु निष्क्रिय जस्तै देखिएको बताउँदै राजनीतिक पार्टी र नेतृत्वप्रति विश्वासको संकट रहेको औल्याए । उनले भने, मोरङ जिल्ला पार्टीको बैठक चलेकै छ । गाउँतिरको बैठक भएको छैन् । जिल्ला सचिव काम छ भन्दै गतिविधिमा आउनु भएको छैन । दशैको चियापानमा पनि आउनुभएन् ।’