Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एस मोरङका कोषाध्यक्ष राय र पूर्व वडाअध्यक्ष ढकाल दुई वर्षदेखि निष्क्रिय

भन्छन्ः अब स्वतन्त्र हो



विश्वनाथ राय र टंक ढकाल

विराटनगर : नेकपा एककीकृत समाजवादी पार्टीमा पछिल्लो समय नेता कार्यकर्ताहरुको असन्तुष्टि व्यापक देखिन थालेको छ । माधव कुमार नेपालले नेकपा एमाले फुटाएर समाजवादी बनाउँदा साथ दिएका नेताहरु धमाधम पार्टी परित्याग गरिरहेका छन् । केही नेता भने लामो समयदेखि पार्टीमा निष्क्रिय छन् ।

नेकपा एसका मोरङ जिल्ला सचिव राजन केसी ९ महिनादेखि पार्टीको गतिविधिमा संलग्न छैनन् । पार्टीका जिल्ला अध्यक्ष चन्द्रविर राई पनि जिल्लाका गतिविधिमा फाट्टफुट्ट मात्रै देखा पर्छन् ।

जिल्ला कमिटीका कोषाध्यक्ष विश्वनाथ राय पनि दुई वर्षदेखि पार्टीको कुनै गतिविधिमा संलग्न भएका छैनन् । रायले अहिले आफू स्वतन्त्र भएको बताए । उनले भने, ‘मैले पार्टी छाडेको धेरै समय भयो । अहिले म स्वतन्त्र नागरिक हो ।’

कोषाध्यक्षबाट आफूले जिल्ला कमिटीको बैठकमै मौखिक राजीनामा दिएको र लिखित राजीनामा बुझाउन खोज्दा पार्टीका पोलिट्बुरो सदस्य महेश रेग्मीले रोकेको उनले बताए । ‘बैठकमा मैले सबैलाई म कोषाध्यक्षबाट राजीनामा दिएर पार्टी छोड्छु भनेको थिए,’ उनले भने, ‘तर, महेश रेग्मीले अहिले त्यसो नगर्नु नराम्रो प्रभाव पर्छ भनेर दबाब दिएपछि लिखित राजीनामा दिइन्, तर म पार्टीमा छैन् ।’

राय गएको स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट रतुवामाई नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए । तर, निर्वाचनमा उनी पराजित भए ।

यस्तै जिल्ला कमिटी सदस्य टंक ढकाल पनि लामो समयदेखि पार्टीमा सक्रिय छैनन् । ढकाल पनि गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उपमेयरको उम्मेदवार थिए । ढकालले आफू स्थानीय तहको निर्वाचनदेखि पार्टीमा निष्क्रिय भएको बताए ।

‘म अहिले स्वतन्त्र छु, लौरो वाला स्वतन्त्र पनि होइन । घण्टीवाला पनि होइन । स्वतन्त्र नागरिक ।’ ढकालले भने, ‘चुनावपछि पार्टीसँग सम्पर्क छैन् । पार्टीका नेताले पनि खोजी गरेका छैनन् ।’

उनी रतुवामाई नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्षसमेत हुन् । नेकपा एकीकृत समाजवादी पार्टी बन्दा ढकालसहित मोरङका ४ जना वडा अध्यक्षले सनाखत गरेका थिए ।


एस समाजवादीमा भद्रगोल, मोरङका सचिव भन्छन्ः ‘पार्टीले फट्याई गरेपछि मिटिङमा जान छाँडे’

प्रतिक्रिया
सम्बन्धित समाचार