Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झुर्किया अस्पतालः शिलान्यासमा हतारो, अझै सुरु भएन निर्माणको काम



शिलान्यास गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ल्याएर शिलान्यास गरेको नगर अस्पताल झर्किया भवनको काम अझै सुरु हुन सकेको छैन् ।

मंसिर २८ गते तामझामका साथ स्वास्थ्यमन्त्रीलाई प्रमुख अतिथि बनाएर शिलान्यास गरिएको अस्पतालको भवन निर्माणको काम १७ दिन पुग्दा पनि सुरु हुन सकेको छैन् ।

झुर्किया अस्पताललाई नगर अस्पतालमा स्तरोन्नति गरेर १५ शैयाको अस्पताल बनाउन लागेको रतुवामाईले शिलान्यासमा हतारो गरे पनि निर्माण सुरु गर्न निर्माण कम्पनीलाई कुनै निर्देशन दिएको छैन् ।

अस्पतालको भवन २४ महिनामा निर्माण सम्पन्न गर्ने गरी करिब ११ करोडमा ठेक्का लगाइएको रतुवामाईका मेयर नागेश्वर सिंहले जानकारी दिए । उनले अहिलेसम्म काम सुरु हुन नसकेको बताए ।

शिलान्यासमा हतार गर्नुभयो तर अहिलेसम्म काम किन सुरु गर्न निर्देशन नदिएको ? भन्ने प्रश्नमा उनले भने, ‘अब म ठेकदारलाई छिटो बनाउन निर्देशन दिन्छु । अरुअरु कामले गर्दा त्यो विषयमा ध्यान दिन पाएको थिइन् ।’

झुर्कियाका स्थानीय विनोद यादवले नगरपालिकाले हतारमा शिलान्यास गरेको र काम कहिले सुरु हुन्छ, कुन ठेकदारले कति पैसामा बनाउन लागेको भन्ने सबै कुरा सार्वजनिक नगरेको बताए । उनले आफ्नै ठाउँमा निर्माण हुन लागेको अस्पतालको विषयमा पनि आफूहरुले जानकारी नपाउनु दुखद भएको बताए ।

झुर्किया अस्पतालका प्रमुख ओमबहादुर कार्कीले भवन निर्माणको प्राविधिक विषय आफूलाई आफूलाई थाहा नभएको बताए । उनले भने, ‘म त कर्मचारी हो । कार्यालय जान्छु घर फर्किन्छु । के कति लागतमा बन्न लागेको हो मलाई थाहा हुने कुरा भएन । नगरपालिकाका प्राविधिक गजेन्द्र शाहले यहाँको काम हेर्नुभएको छ । एकपटक उहाँलाई नै सम्पर्क गर्नुहोला ।’

तर नगरपालिकाका प्राविधिक गजेन्द्र शाहलाई अस्पताल निर्माणको विषयमा जानकारी लिन खोज्दा विभिन्न बहाना बनाए उनी तर्किन खोजे ।

आफ्नै ठाउँमा राम्रो अस्पताल निर्माण हुन लागेको भन्दै शिलान्यासका बेला खुसी भएका स्थानीय बासिन्दा निर्माण सुरु नहुँदा निरास भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार