विराटनगर : आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न कोशी प्रदेशमा सत्ता गठबन्धनबाट सयौँ आकांक्षी देखिँदा एमाले भने मौन देखिएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि प्रदेशबाट ६३ जनाको नाम सिफारिस गरेको छ भने माओवादीले पनि एक दर्जन बढी नेताको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।
राष्ट्रिय सभामा कोशीबाट दुई सिटका लागि निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएपछि दुई प्रदेशमा दुई सिटमा चुनाव हुँदैछ ।
कांग्रेसले कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । यस्तै महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको नाम पनि प्रदेश समितिले सिफारिस गरेको छ ।
माओवादीले पनि अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, चम्पा कार्की, समिता कार्की, लक्ष्मी न्यौपाने ममता राजवंशी लगायतको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहँदा निर्वाचन हुने सबै सिटमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने छन् । गठबन्धनका कारण चुनाव हार्ने डरले पनि अहिले कोशीमा एमालेबाट कुनै नेताले पनि उम्मेदवार बन्न इच्छा देखाएका छैनन् ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले उम्मेदवार बन्नका लागि पार्टीमा धेरै आकांक्षी नदेखिएको बताए र यद्यपि १८ गतेसम्म केही नाम सिफारिस गरेर केन्द्रमा पठाइने उनले बताए ।
राष्ट्रिय सभाको निर्वाचनलाई एमालेले रणनीतिक हिसाबले लिने उनको भनाइ छ । विभिन्न सम्भावनाका ढोकाहरु खुल्ला भएका कारण गठबन्धन के कसरी अघि बढ्छ त्यो हेरेर एमाले टुंगोमा पुग्ने उनले बताए । उनले पूर्वेलीप्रेससँग भने, ‘एउटाको भोटले मात्रै जित्ने अवस्था छैन् । गठबन्धन कसरी जान्छ । कांग्रेस माओवादीको गठबन्धन कस्तो हुन्छ ? माधव नेपालहरुको पनि फुर्तिफार्ती धेरै देखिन्छ । त्यो कस्तो ढंगले आउँछ । यदि गठबन्धन एक भ एभने हाम्रो भोट पुग्दैन । हामीले अरुको ठुलो संख्यामा भोट क्रस गर्नुपर्ने हुन्छ । त्यो सम्भव छैन् ।’
खतिवडाले एमालेलाई पनि तालमेलको प्रस्ताव आइरहेको बताए । ‘हामीलाई तालमेलको प्रस्ताव आइरहेको छ,’ उनले भने, ‘तालमेल भयो भने देशव्यापी रुपमा हुन्छ ।’
एमाले अहिले व्यक्तिमा भन्दा पनि पार्टीको हित हुने कुरामा केन्द्रित रहेको बताउँदै उनले कसैसँग गठबन्धन नभएपनि आफूहरुले उम्मेद्वार उठाउने बताए । ‘एमालेले खाली छोड्दैन । अवस्था हेरेर निर्णय गार्छौँ ।’ उनले भने ।
एमाले कोशीका एक जना नेताले भने चुनाव हार्ने डरले नेताहरु उम्मेदवार बन्न नचाहेको बताए । ती नेताले भने, ‘गठबन्धन हुँदा हामी जित्न सक्दैनौँ भन्ने सबैलाई थाहा छ, त्यसैले पनि राष्ट्रिय सभाको उम्मेदवार बन्न कसैले इच्छा देखाएका छैनन् ।’ यदि एमालेले सहजै जित्ने अवस्था भए उम्मेदवार बन्न नेताहरुको लाइन लाग्ने उनले सुनाए ।
कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेशमा १३७ स्थानीय तहका २७४ जना प्रमुख/उपप्रमुख रहेका छन् । १३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकिकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् । स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ मतभार रहेको छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यस्तै ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।