विराटनगर : कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई तराईसँग जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
सडक निर्माण गर्न कठिनाइ पर्ने भन्दै मिर्चैया कटारी घुर्मी सडक योजनाको कार्यालय कटारीले दैनिक आठ घण्टा सडक बन्द गर्ने भएको हो । कार्यालयका अनुसार पुसको पहिलो सातादेखि माघ तीन गतेसम्म सडक आठ घण्टा बन्द हुनेछ ।
अहिले सो सडकमा पर्ने कटारी नगरपालिका वडा नं. १४ लेखानीको चनौटे खोलादेखि घुर्मी प्रहरी कार्यालयसम्म कालोपत्रेको काम भइरहेको छ ।
मिर्चैया– कटारी–घुर्मी सडक योजनाको कार्यालय कटारीका योजना प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्रका अनुसार सात किलोमिटर कालोपत्रेको कामका लागि जनशक्तिसहित निर्माण व्यवसायीले यातायात सेवा बन्द गरेर सडक निर्माण सुरु गरेको हो ।
त्यस क्षेत्रमा दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म सडक बन्द गरिएको छ । यस समयमा एम्बुलेन्स, सुरक्षा तथा दमकलबाहेकका सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको छ ।