नेकपा एमालेले मध्य पहाडी लोक मार्गलाई आधार बनाएर थालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सफलतापूर्वक सम्पन्न भएको छ । मङ्सिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट सुरु भएको यात्रा १९ औँ दिनमा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भयो । यो यात्रामा नेकपा एमालेको सिङ्गो टिम सहभागी थियो । ७१ वर्षीय पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिब १८ सय किलोमिटरको यात्रा तय गर्न त्यति सहज भने थिएन । तर, उनलाई यो यात्रामा सिङ्गो पार्टीपंक्ति र जीवन सङ्गिनी राधिका शाक्यको साथ रह्यो ।
संयोगले सङ्कल्प यात्रामा कोशी प्रदेशभर जोडिने मौका मैले पनि प्राप्त गरे । मङ्सिर २६ गते उदयपुरको घुर्मीबाट जोडिएर पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्दा धेरै कुराको अनुभव बटुल्न पाइयो । मध्य पहाडी लोक मार्गले कोशीका ७ वटा जिल्लालाई छोएको छ । उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरलाई यो मार्गले छोएको छ ।
एमालेको यो सङ्कल्प यात्रा तल्लो तहका जनतासँग प्रत्यक्ष जोडिएको छ । यात्राका क्रममा नेताहरूले जनतालाई भेट्ने, गुनासो सन्ने, संवाद गर्ने काम गरे । केपी शर्मा ओलीले त बालबालिकादेखि ज्येष्ठ नागरिक सबैसँग भलाकुसारी गर्न भ्याए । कोशीमा सङ्कल्प यात्राका तीन वटा ठुला आमसभा भए । हर्कपुर, वसन्तपुर र फिदिममा हजारौँको सङ्ख्यामा आमसभामा मानिसहरूले सहभागी जनाए । आमसभा बाहेक भेटघाट र कोण सभा दर्जनौँ भयो ।
मङ्सिर २६ गते हर्कपुरमा आमसभा सकेर एमालेको टोली खोटाङको सदरमुकाम दिक्तेल पुगेर बास बस्यो । भोलिपल्ट बिहानै पार्टी अध्यक्ष ओलीले त्यहाँका स्थानीय र ज्येष्ठ नागरिकसँग भेट गरेर उनीहरूको समस्या सुने । ओलीसँग भेट गर्न आएका ज्येष्ठ नागरिकहरूको मुहारमा हाँसो थियो – केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गर्न पाइयो भनेर । खोटाङका एक जना बुबाले त ओलीलाई एकल पुरुषहरूलाई विदुर भत्ताको व्यवस्था गरिदिन आग्रह पनि गरे । फुल माला लिएर बसेकाहरूले पालैपालो आफ्ना समस्या सुनाए ।
दिक्तेलबाट निस्किएर ओलीसहितका नेताहरूले शुभम् फाउन्डेसनका बालबालिकाहरूसँग केही समय बिताए । त्यहाँ पुग्दा बालबालिकाहरू ओलीसँग तस्बिर खिच्न तँछाडमछाड गर्दै थिए । ओलीले पनि उनीहरूलाई काखमा बोकेर पालैपालो तस्बिर खिचाए ।
यो यात्रामा नेताहरूले सामान्य नागरिकको जस्तै जीवनशैली बिताए । खोटाङकै वुवालुङमा पुग्दा नेताहरूलाई त्यहाँको खाजाले मन लोभ्याएको थियो । त्यहाँ स्थानीयहरूले रैथाने खाजाको प्रबन्ध मिलाएका थिए । मकै भटमास भुटेको, उसिनेको आलु र इस्कुस, गुन्द्रुकको अचार र दहीमा नेताहरूको ध्यान थियो । नेताहरू खाजा खानका लागि लाइन लागेर बसेका थिए । केही नेताले त बाटोमा खाजा हुन्छ भन्दै मकै भटमास बोकेर पनि ल्याए । मकै भटमासका लागि नेताहरू लाइन लागेको देखेर स्थानीय पनि खुसी थिए । वुवालुङकी स्थानीय कमला राउतका अनुसार त्यहाँ ३ मुरी मकै भटमास, हजार केजी इस्कुस, २ मुरी आलु, ३ सय पोका गुन्द्रुक र ५ सय कुरुवा दही राखिएको थियो । उनी हर्षित मुद्रामा भन्दै थिइन्, ‘कम्युनिस्ट नेताहरू त सोखिन हुन्छन् रे भनेर सुनेको थियौँ । तर, त्यस्तो होइन रहेछ । उहाँहरू त हामी जस्तै सामान्य हुनुहुँदो रहेछ । उहाँहरूले हामीलाई जुन सम्मान गरिदिनुभयो त्यसले हामीलाई खुसी बनाएको छ ।’
खाजा मात्रै होइन नेताहरूले खाना पनि जनतासँगै लाइनमा बसेर सँगै खाए । भोजपुरको टेम्केमैयुङ पुग्दा असिना पानीले कार्यक्रम प्रभावित पार्छ भन्ने धेरैको आकलन थियो । त्यहाँ स्थानीय कमिटीले खानको व्यवस्थापन गरेको थियो । बाहिर सिमसिम पानी परिरहँदा पनि नेताहरू त्यहाँ खाना खानको लागि हतारिएका थिए । खाना खानका लागि स्थानीयले टपरी बनाएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठलगायतका नेताहरू टपरी बोकेर लाइन लागेका थिए । धेरै मानिसहरूको उपस्थिति र साँघुरो ठाउँ भएका कारण बसेर खाना खान सम्भव पनि थिए । नेताहरूले टपरीमा दाल र मासुको झोल चुहाउँदै उभिएर खाना खाए । देख्दा जो कोहीलाई पनि उनीहरू सामान्य नागरिक झैँ लाग्थ्यो । उनीहरूले पनि आफूहरू जनताबाट टाढा नरहेको सन्देश दिन हिचकिचाएनन् ।

त्यो क्षणलाई हामीले पनि राम्रोसँग नियाल्यौ । नेताहरूको रहनसहन र खानपिन साधारण लाग्यो । यसले पहाडमा एमालेको क्रेजलाई बढाएको छ ।
यात्रामा नेताहरूको खानपिन मात्रै होइन बसाई पनि सामान्य र साधारण छ । केपी ओलीको जन्म घर तेह्रथुमको आठराईमा नेताहरू लाइन लागेर भूँइमा सुते । परालको गुन्द्री र म्याट ओछ्याएर उनीहरू भूँइमा सुते । यसले पनि जनतामाझ एउटा सन्देश दिएको छ । समृद्धिका लागि संकल्य यात्राले नेकपा एमाले जनताप्रति जिम्मेवार छ भन्ने सन्देश दिएको छ । यात्राले फेरि एकपटक नागरिकमा आशा जगाएको छ । त्यस क्षेत्रका नागरिकमा अब केही हुन्छ भन्ने ठूलो आशा पलाएको छ ।
एमालेले नेताहरूको हुकुमी शासनलाई चिरफार गरिदियो । पछिल्लो समय राजतन्त्र र नयाँ आएका दलहरूप्रति जनताको क्रेज बढेर गएको छ भन्ने जुन प्रकारको सन्देश फैलाइँदै छ, वास्तवमा मध्य पहाडमा त्यस्तो अवस्था छैन । पहाडमा बहुसङ्ख्यक मानिसहरूले अझै पनि एमालेको पक्षमा छन् । पुराना दललाई अझै नागरिकको साथ समर्थन कायमै छ ।
यात्राले यस्ता धेरै सन्देश प्रवाहित गरेको छ । पहाडमा आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले समृद्ध बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । साँच्चै भन्ने हो भने अहिलेको सन्दर्भमा केपी ओली नै लोकप्रिय नेता हुन् । यात्राले ओलीको क्रेज झन् बढाएको छ ।
कोशी प्रदेश प्रवेश गर्दै गर्दा एमालेलाई पहिचानवादीले जुन प्रकारको अवरोध गर्ने धम्की दिए । तर, यात्राका क्रममा त्यस्तो अवरोध कतै भएन । एमालेलाई निशाना बनाएर थालेको उनीहरूको आन्दोलनलाई पनि एमालेले चिरफार पारिदियो । एमालेको सङ्कल्प यात्राले ग्रास रुट लेभलका जनताहरूमा पहिचानको विषयलाई लिएर पार्टीप्रति कुनै वितृष्णा नभएको सन्देश प्रवाह गरेको छ । जुन कुरा यात्राले प्रस्ट पारेको छ ।
यसअघि उनीहरूले जुन प्रकारको अवरोध र आन्दोलन गर्थे । यस पटक कोशी प्रवेश गर्दै गर्दा उनीहरूको आन्दोलन केबल विज्ञप्तिमा सीमित भयो । उनीहरूको हिम्मत गरेर बाहिर आन्दोलन गर्ने आँट गरेनन् । यसले पनि एमाले पहाडमा बलियो शक्ति हो भन्ने कुरालाई स्थापित गर्न सहयोग गर्यो । यात्राका क्रममा एमालेले पनि पहिचानवादीहरूलाई बिच्काउने गरी कुनै अभिव्यक्ति दिएन । बरु आफ्नो कार्यक्रमलाई सहयोग गर्न आग्रह गरिरह्यो ।
त्यसो त एमालेका नेता कार्यकर्ताहरुले ओलीलाई पनि कोशी प्रदेश गर्ने बित्तिकै किराँती भेषभुसा र बाजागाजासहित स्वागत गरे । उनीहरूले ओलीलाई किराँती भेषमा सजाए । ढोल झ्याम्टासहित साकेला नाचदेखि सुन्तलाको माला र शेर्पा जातिले लगाउने टोपी लगाए । त्यसले पनि पहिचानवादीलाई केही हदसम्म साम्य हुन सहयोग गर्यो ।
अन्तमा,
एमालेको समृद्धिका लागि सङ्कल्प यात्राले मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा पहिचान गर्ने काम गरेको छ । पहाडमा सामाजिक र सांस्कृतिक एकता छ भन्ने सन्देश प्रवाह मात्र गरेन यात्राले देशव्यापी राष्ट्रिय एकताको सन्देश दियो । दुई दुई पटक मिर्गौला प्रत्यारोपण गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी यो उमेरमा सुदूरपश्चिमदेखि सुदूर पूर्वको यात्रा सम्पन्न गरे यो अरू जो कोहीले गर्न सक्दैनन् । यो केबल केपी ओलीले मात्रै गर्न सक्छन् । केपी ओलीको यो साहसलाई जो कोहीले पनि सम्मान त गर्नै पर्छ । १९ दिन लगाएर एमालेले जुन यात्रा तय गर्यो, यसले एमालेलाई थप बलियो बनाएको छ । पहाडको विकासमा एमाले सधैँ लागिपर्छ र पहाडमा समृद्धि ल्याउन एमालेले काम गर्छ भन्ने सङ्कल्प यात्राले राष्ट्रव्यापी सन्देश दिएको छ ।