Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाईघाटको मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा करोडौँको क्षति



Symbolic Photo

विराटनगर : उदयपुरको गाईघाटमा रहेको एउटा मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

आइतबार बेलुका उदयपुरको त्रियुगा नगरपालिकामा रहेको त्रियुगा नमूना माध्यमिक विद्यालयको छेउमा रहेको राज अटो मोटरसाइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्द्रन चौधरीका अनुसार आगलागीबाट मोटरसाईकल ग्यारेज तथा दक्षिणतर्फका किराना, पान पसल जलेर नष्ट भएको छ । अन्य ७ वटा पसलमा समेत क्षति पुगेको छ ।

उक्त वर्कशप राजु ठाकुरले सञ्चालन गरेका हुन् । अचानक विद्युत सर्ट भएर आगो लागेपछि अन्य क्षति रोक्न दक्षिणतर्फको शाही होटलसम्मका पसलहरु स्काभेटर लगाएर भत्काइएको थियो ।

आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिनसहितका उपकरणहरु जलेर नष्ट भएका छन् ।

आगलागीबाट २ करोड ४५ लाख ८ हजार बराबरको क्षति भएको उदयपुर प्रहरीले जनाएको छ ।

त्रियुगा र चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र र स्थानीयबासीको सहयोगमा करिब डेढघण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार