विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका ५ दमौटीमा श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी महिलाको बयानका आधारमा प्रहरीले छोरालाई पनि पक्राउ गरेको छ ।
६० वर्षीय श्यामकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमती ४० वर्षीया निरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा छोरा सुरन राईलाई बुधबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार निरकुमारीले घाँटी थिचेर श्रीमानको हत्या गरी घरभन्दा ५ सय मिटर माथि जंगलमा लगेर खाल्डो खनी पुरेर स्याउलाले छोप्न छोरा सुरनले सहयोग गरेका थिए ।
१६ गते साँझ उनीहरुबीच घरायसी विवाद भएको थियो । विवाद चर्कँदै गएपछि आवेशमा आएर श्रीमानले लगाइरहेको गलबन्दी थुतेर घाँटी थिच्दा प्राण गएको बयान निरकुमारीले दिएकी छिन् ।
हत्या गर्ने मनसाय नभए पनि आक्रमणबाट श्रीमानको मृत्यु भएपछि बिखलबन्दमा परेकी उनले छोराको सहयोगले शव लगेर जंगलमा गाडेको रहस्य उनकै मुखबाट खुलेको डिएसपी चौधरीले बताए ।
आमाको भनाइमा लागेर बाबुको शव पुर्न सहयोग गरेको आधारमा छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।