Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर आगलागीः घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगियो



विराटनगर : बुधबार दिउँसो विराटनगरको एक कवाडी गोदाममा आगलागी हुँदा घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

विराटनगर–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी चार जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले दिएको जानकारी अनुसार घाइते भएका चार जनालाई नै काठमाडौँ पठाइएको छ ।

उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

आगलागीमा परी विराटनगर ६ का ४० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पताल र अर्का एक जनाको गोदाममै मृत्यु भएको पाइएको हो । आगो नियन्त्रणमा लिएपछि प्रहरीले शव फेला पारेकोमा पहिचान खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार