विराटनगर : मोरङमा हात्तीको आक्रमणबाट ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । सोमबार बिहान बेलबारी नगरपालिका-१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का कमल माझीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार माझीको शव बिहान १०ः३० बजेतिर जंगलमा फेला परेको थियो ।
लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको हुनसक्ने उनको भनाइ छ । बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले टिपेर जंगलतर्फ फ्यालिदिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइन्छ ।
माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेको पाइएको छ । परिवारका सदस्यलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै थिए । जानकारहरुका अनुसार घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती अति आक्रामक हुन्छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।