रतुवामाई : पूर्वी तराईका किसानहरूले दसैँ सकिए लगत्तै धान काट्न सुरु गरेका छन् । उनीहरू धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् ।
गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् ।
मोरङका १७ पालिकामध्ये सबैभन्दा बढी धान उत्पादन हुने दक्षिणी सीमावर्ती रतुवामाई नगरपालिकाका किसानहरूलाई पनि यति बेला धान काट्न चटारो छ ।
किसानहरूले खेताला खोजेर धान काट्नेदेखि विभिन्न मेसिनरी उपकरण प्रयोग गरेर बाली भित्र्याउन व्यस्त छन् ।
पछिल्लो समय सुगम क्षेत्रमा मेसिनरी उपकरणको बढ्दो प्रयोगले किसानहरूलाई सहज भएको रतुवामाई ७ का वडा अध्यक्ष राम कार्की बताउँछन् । उनले भने, ‘खेत बाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ । अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।’
मानिसको तुलनामा मेसिनरी उपकरणको प्रयोगबाट एकै दिन धेरै काम गर्न सकिने र काम गर्न पनि सहज हुने किसानहरू बताउँछन् ।
