Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थुनुवाको मृत्यु छानविन गर्न समिति गठन



विराटनगर । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी मोरङ केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी नियत्रणमा रहेकै बेला अचेत भएका थुनुवाको उपचारका क्रममा मृत्यु भएको घटना छानविन गर्न समिति गठन भएको छ ।

घटना छानविन गर्न मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । छानविन समितिमा केराबारी गाउँपालिका २ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू, प्रहरी निरीक्षक मोहन पोखरेल सदस्य रहनुभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
घटनाको सूक्ष्म छानविन गरी समितिले प्रतिवेदन दिएपछि थप प्रक्रिया अगाडि बढाइने र थुनुवाको मृत्यु हुनुमा प्रहरीको कमजोरी भएको पाइएमा आवश्यक कारवाही गर्ने एसपी कोइरालाले बताए । समितिले एक साताभित्र प्रतिवेदन दिने छ । छानविन समिति गठन भएपछि मृतकका आफन्तले शव बुझेका छन् ।

जेठ २५ गते घरबाटै पक्राउ पर्नुभएका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा बुझाएको थियो । सरकारी वकिल कार्यालयमै बेहोस भएपछि उपचारका क्रममा कोशी अस्पतालमा ठकुरीको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीले ६ महिना अगाडि श्रीमतीलाई आक्रमण गरी घाइते बनाएको आरोपमा पक्राउ गरेको थियो । कोरोना संक्रमण भएपछि प्रहरीले हाजिर जमानीमा छोडेको ठकुरीलाई सरकारी वकिल कार्यालयमा हाजिर गराउन लैजाने क्रममा घटना भएको थियो । हाम्रोमतबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार