रतुवामाई : मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७५ जनालाई रोजगारी प्रदान गर्न लागेको हो ।
नगरपालिकाका रोजगार संयोजक प्रदीप पराजुलीका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले ६५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरेको थियो । यस वर्षदेखि प्रधानमन्त्री रोजगारी कार्यक्रम पनि केही परिमार्जन भएर सञ्चालन गरिने छ ।
नगरपालिकाले स्थानीयको आत्मनिर्भर बनाउन सीपमुलक तालिम प्रदान गर्ने गरेको रोजगार संयोजक पराजुलीले बताए । उनको अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले १२० जनालाई उद्यमशिलता तालिम प्रदान गरेको थियो । त्यसमध्ये गरिबी निवारणका लागि ९० जनालाई सीपमूलक तालिम प्रदान गरेको उनले बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमका लागि ६० लाख र उद्यमशिलता विकास कार्यक्रमका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।