विराटनगर : भारतको उत्तरी सिक्किममा आएका बाढी पहिरोका कारण बेपत्ता भएका इलामका ५ जना नेपाली सकुशल भेटिएका छन् । कामको सिलसिलामा सिक्किम पुगेका इलाम नगरपालिकाका-९ का ५ जना नेपाली ११ दिनपछि भेटिएका हुन् ।
उनीहरू सबै परिवारको सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।
इलाम-९ गोला खर्कका सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत र खुसी बस्नेत असोज १७ गतेबाट सम्पर्कविहीन भएका थिए ।
उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोला खर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।