विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्की डा. शेखर कोइराला समूहका नेता हुन् ।
केन्द्रले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गरेका थिए । प्रदेश प्रमुखले कार्की र आङ्बोले बिहीबार नै आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेको भन्दै मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत गराएका थिए । सनाखतमा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
को हुन् कार्की ?
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका केदार कार्की २०३० साल पुष ७ गत जन्मिएका हुन् । स्कुल पढ्दादेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका कार्की २०४४ सालमा जनता उच्च माध्यमिक विद्यालय मधेसामा नेपाल विद्यार्थी सङ्घको सभापति भएका थिए । विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । कार्कीले थप राजनीति पूर्वको सबैभन्दा लोकप्रिया मानिएको महेन्द्र मोरङ क्याम्पसबाट अघि बढाए ।
२०५२ सालमा नेविसघ महेन्द्र क्याम्पसको एकाइका सभापति भएका उनी २०५९ सालमा क्षेत्रीय सभापति भए । उनी नेविसघंको मोरङ जिल्ला सभापति पनि भए ।
स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका कार्की नेविसंघको केन्द्रीय सदस्य पनि भए ।
त्यसपछि पार्टी राजनीतिमा प्रवेश गरेका कार्की २०७४ मा भएको पहिलो प्रदेशसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ को प्रदेश २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेशसभाको पहिलो कार्यकालमा संसदीय दलको प्रमुख सचेतक बनेका कार्की पछि राजनीतिक फेरबदलका कारण कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री भए ।
राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् । कार्की २०७९ को निर्वाचनमा मोरङ ६(२) बाट दोस्रोपटक निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिको समयमा कार्की विराटनगरमा निकै लोकप्रिय थिए । त्यसबेला विराटनगरमा हुने हरेक आन्दोलनमा कार्कीको सहभागिता रहन्थ्यो ।