विराटनगर : युवतीको विषयमा विवाद भएपछि ग्याङ फाइट गर्न भनेर हिँडेका १५ जना विराटनगरबाट प्रहरीको फन्दामा परेका छन् ।
शुक्रबार दिउँसो प्रहरीले विराटनगर महानगरपालिका वडा नं ९ स्थित घोघापुल तथा शनिमन्दिर चोकबाट विभिन्न घरेलु हातहतियारसहित १५ जनालाई पक्राउ गरेको हो ।
दुई समूहबिच झडप हुन लागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले झडपको तयारी गरेर साथमा घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरेको डीएसपी दाहालले बताए ।
पक्राउ १५ जनामध्ये ६ जना मात्रै १८ माथिका छन् । पक्राउ परेका अन्य ९ जना नाबालक रहेको दाहालले बताए ।
पक्राउ पर्नेहरुमा विराटनगर ४ का १८ वर्षीय सेख कबी अली, सुनसरी बर्जु गाउँपालिका ६ का १८ वर्षीय बिजय चोधरी, सोही स्थानका १९ वर्षीय राहुल दास, १९ वर्षीय ललन कुमार मेहता, संजय मेहत र प्रेम चौधरी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट तरवार, खुर्पा, लाठी, फलामको धारिलो नोख, नोखको रूपमा प्रयोग गरिने धातुको चुरा र पेचकस बरामद गरेको छ ।
झडपको तयारी गर्नेमध्ये केही फरार छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।