Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

किन विवादमा पर्यो एमाले कोशीको अधिवेशन ?



नेकपा एमालेको प्रदेश स्तरीय कमिटीका अधिवेशनहरु धमाधम भइरहेका छन् । हालै एमालेको प्रथम कोशी अधिवेशन सम्पन्न भएको छ । निर्वाचनका माध्यमबाट सम्पन्न भएको निर्वाचनका कतिपय विषय सुधार गरेर जानुपर्ने अवस्था देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयमले निर्वाचनका विषयमा प्रश्न उठाएपछि यो प्रक्रियाका विषयमा समीक्षा हुनु जरुरी छ ।

खासगरेर सानातिना कमजोरीले गर्दा कोशीको चुनाव विवादमा पर्यो । यसमानेमा पनि विवादमा पर्यो कि केन्दीय अध्यक्षले नै प्रश्न उठाए । यद्यपि जित्ने अध्यक्ष घनश्याम खतिवडा र पराजित भएका विनोद ढकालले निर्वाचनको परिणामलाई स्वीकार गरिसकेका छन् । तर, पनि यो चुनाव किन विवादमा भयो भन्ने विषयमा एउटा असल दर्शकको रुपमा यसरी विश्लेषण गर्न सकिन्छ ।

पहिलो नम्बरः मतपत्रको सवाल – निर्वाचनमा प्रयोग गरिएको मतपत्रको चिन्ह लगाउने ठाउँ दुई अध्यक्षको सानो र ठूलो भएको साथै मतपत्र धेरै पन्नाको हुनुपनि यो निर्वाचन विवादमा पर्यो । निश्चित व्यक्तिलाई फाइदा पुग्नेगरी मतपत्रहरु बनाइएको र केहीमा कतिजनालाई मत हाल्नुपर्ने कन्फ्युजन हुने गरी लेखिएको र भाषाहरुपनि असुद्ध भएको सहभागीहरुको आरोप थियो ।

दोस्रो सवालः मतपत्र लिइसकेपछि मतदान गर्न लाइन बस्दा नै लामो समयसम्म पालो कुनुपर्दा कतिपय मतदाता बसेकै ठाउँमा गएर उम्मेदवारले आफ्नो मतपत्रमा चिन्ह लगाइदिएको आरोप सहभागीको छ । मतपत्र लिने बित्तिकै उनीहरुले मतदान गर्न पाउनुपथ्र्यो । त्यस्तो अवस्था सिर्जना भएन । यहाँनेर बाहिरै मतदान गरेको भनेर मतपत्रसमेत जफत गरिएको थियो ।

तेस्रो सवालः राति निर्वाचन गरिएकाले कतिपय मतदान गर्न आएनन् र कतिपय मत रद्ध भयो ।

चौथो सवालः उम्मेदवारहरुको तोकिएको क्राइट एरिया जाँच गर्ने दर्बिलो व्यवस्थापन नहुँदा चुनावमा क्राइट एरिया नपुगेकाहरु पनि उम्मेदवार भए र कतिपयले चुनाव पनि जिते । यसले गर्दा पनि निर्वाचनमा निष्पक्षतामाथि प्रश्न उठ्यो ।

पाँचौ सवालः गणना पनि व्यवस्थित र राम्रो हुन सकेन । हतारहतार गरिएको गणना प्रति पनि कतिपय उम्मेदवारले प्रश्न उठाए । साँथै निर्वाचन कमिटीमा कानुनका मात्रै मानिस जान्दछन भन्ने हिसावले अरु क्षेत्रका मानिसहरुको प्रयोग गरिएन । यसले पनि फराकिलो ढंगले सोच्ने गरी चुनावका प्राविधिक काम हुन सकेन ।

छैटौ सवालः केन्द्र तहबाटै लिस्ट वितरण नगर्ने निर्देशन थियो । तर, त्यहाँ लिस्ट वितरण गरिएको सहभागीको आरोप थियो । यसले पनि मतदाताको स्वविवेकको अधिकार प्रयोग हुन नसकेको गुनासो छ ।

सातौँ सवालः केन्द्रको निर्देशनमा हरेक निर्वाचन क्षेत्रबाट प्रदेश कमिटी सदस्य चुनिने व्यवस्था गरिएको थियो । तर, यहाँ पूरै जिल्लाबाट सदस्य चुनिने व्यवस्था गरियो । यो पनि निर्वाचनका लागि राम्रो सन्देश गएन । यसले गर्दा जित्ने मान्छेपनि पराजित भए । जिल्लाबाट प्रतिनिधित्व गर्नेगरी चुनिने सदस्यहरु सबै ठाउँका मतदाताले मतदान गर्ने परिपाटीले कतिपय जिल्लामा चाहिनेृ र स्थापित नेतृत्व पराजित भए । हतारहतारमा गरिएको निर्वाचन र मतदातासँग आफ्नो कुरा राख्न नपाई चुनावमा जानुपर्ने अन्योलपूर्ण अवस्थाले राम्रा उम्मेदवारहरु पराजित हुनुपर्यो । संखुवासभाका विदुर सुव्वा र मोरङका खड्ग बस्नेत, सुमन मिरिङचिङजस्ता जिल्लामा स्थापित सिनियर र युवा दुवै खालका उम्मेदवार पराजित भए । उनीहरु निर्वाचन क्षेत्र र पालिकामा जनता भिजेका र उनीहरुबाट निर्वाचित जनप्रतिनिधि थिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु जिल्लाले नै छान्ने व्यवस्था गरेको भए कतिपय ठाउँमा राम्रा मान्छेहरु पराजित हुनुपर्ने थिएन । मतदाताहरुले यस्तो खालको व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।

समग्रमा भन्नुपर्दा निर्वाचनलाई प्राविधिकरुपले व्यवस्थित गर्न नसक्दा कोशीको निर्वाचन विवादमा पर्यो । यद्यपि प्रमुख निर्वाचन अधिकृत चुडामणी आचार्यले नेतृत्वलाई गलत रिर्पोटिङ गरेर विवादमा पार्ने काम गरिएको बताएका छन् ।
नेकपा एमालेले पछिल्लो समय मा लोकतान्त्रिक अभ्यासबाट प्रदेश अधिवेशन गरिरहेका छ । यसको प्रक्रियाका विषयमा सातै प्रदेशमा समीक्षा गरे अगाडि बढ्नु जरुरी छ । नत्र कार्यकर्ताले चाहेका नेता निर्वाचित नहुने र सधैँभरी चुनाव विवादमा परिरहने अवस्थाको सिर्जना हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार