क्रमशः रोहित कार्की, राधाकृष्ण खनाल, खड्ग बस्नेत, विदुरकुमार लिङ्थेप र रामदेव यादव
विराटनगर : नेकपा एमाले कोशी नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारी र केही सदस्यको मतगणना सम्पन्न भएको २४ घण्टापछि बाँकी सदस्यहरुको मतगणना सम्पन्न भएको हो ।
एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ जना प्रदेश कमिटीको सदस्यमा निर्वाचित भएका छन् । ९९७ जना प्रतिनिधि रहेको कोशी अधिवेशनमा ९७७ जनाले मतदान गरेका थिए । मतदानमा २० जना अनुपस्थित रहेका थिए ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा कोशी प्रदेश सभाका पाँच सांसद पराजित भएका छन् । हल खुल्लाबाट मनोनयन दर्ता गराएका संखुवासभाका सांसद विदुरकुमार लिङ्थेप र मोरङका खड्गबहादुर बस्नेत पराजित भएका छन् । हल खुल्लाबाट चार जना निर्वाचित भएका छन् । लिङ्थेप संखुवासभाको प्रदेशसभा २ र बस्नेत मोरङको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् ।
यस्तै झापाको क्षेत्र नम्बर ४(२) बाट निर्वाचित सांसद राधाकृष्ण खनाल पनि निर्वाचनमा पराजित भएका छन् । झापा भूगोल खुल्लाबाट उम्मेदवारी दिएका खनालले ३०५ मत प्राप्त गरेका थिए । १७ जनाका लागि भएको निर्वाचनमा ३६ जना उम्मेदवार थिए । त्यहाँ विजयी हुने उम्मेदवारको अन्तिम मत ३२६ छ ।
यस्तै सुनसरीका दुई जना प्रदेशसभा सदस्य पनि पराजित भएका छन् । सुनसरीको क्षेत्र नम्बर ३ को दुवै प्रदेश निर्वाचन क्षेत्रका सांसदहरु रोहितकुमार कार्की र रामदेव यादव पराजित भएका छन् । कार्कीले २९६ मत र यादवले २५९ मत ल्याएका छन् । सुनसरीको भूगोल खुल्लामा १२ जनाका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।
अन्य ११ जना प्रदेश सांसद भने निर्वाचित भएका छन् । निर्वाचित हुनेमा चार महिला र सात पुरुष सांसद छन् । तेह्रथुमकी कमला दर्नाल, उदयपुरकी गितादेवी रेग्मी, सुनसरीकी निरा खानाल र भोजपुरकी सिर्जना राई एमालेको कोशी प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै झापाका एकराज कार्की र होमबहादुर थापा, सुनसरीका रमेश बस्नेत, राम प्रसाद महतो र विजय राई प्रदेश सदस्यमा निर्वाचित भएका छन् । तेह्रथुमका किशोरचन्द्र दुलाल र मोरङका ज्ञानेन्द्र सुवेदी पनि प्रदेश सदस्यमा विजयी भएका छन् ।