विराटनगर : नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।
निर्वाचित भएका खतिवडाले ५१२ मत प्राप्त गरेका छन् भने ढकालले ४३० मत ल्याएका छन् । खतिवडा मोरङको लेटाङ र ढकाल विराटनगर निवासी हुन् ।
प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उनको एकल उम्मेदवारी थियो । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए ।
यस्तै निर्वाचनबाट पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित भएका छन् । उनी ५२४ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा थिए ।
पदाधिकारीमा निर्वाचित भएका सबैजना खतिवडा समूहका हुन् ।
अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदान नगरेको निर्वाचन कमिटीले जनाएको छ ।