Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

त्रियुगा नगरपालिकाका पूर्वमयेर चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता



विराटनगर : उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमयेर बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएको अभियोगमा मुद्दा दर्ता भएको हो ।

नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार आ.व. २०७८/०७९ को लागि नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको ।६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याएको कारण माटो भरौटे र बलौटेको राजस्व १८ लाख ४४ हजार १७७ रुपैया चुहावट भएको आरोप पत्रमा उल्लेख छ ।

चौधरीले जम्मा ८१ लाख ३५ हजार ३८२ रुपैया राजस्व चुहावट गरेको र चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो ८१ लाख ३५ हजार ३८२ रुपैया कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए, गरेको राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना हुन मागदाबी लिइएको छ।

चौधरी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य एवम् कोशी प्रदेश अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार