Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जसपा मोरङका अध्यक्ष यादवमाथि महानगर प्रहरीद्वारा दुर्व्यवहार



विराटनगर : जनता समाजवादी पार्टी (जसपा) का मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवमाथि विराटनगर महानगरपालिकाका नगर प्रहरीले दुर्व्यवहार गरेका छन् ।

यादवमाथि बुधबार बेलुका नगर प्रहरीले पसलमा बसिरहेको अवस्थामा दुव्र्यवहार गरेको जसपाका नेता जयराम यादवले जानकारी दिए ।

राजकुमार यादवमाथि भएको दुव्र्यवहार र संघातिक आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै पार्टीले भोलिदेखि महानगरपालिका केन्द्रित आन्दोलन गर्ने उनले बताए ।

उनले भने, ‘आज शोक विदा भएकाले हामीले केही गरेनौँ, भोलिदेखि महानगरपालिका केन्द्रित आन्दोलन गर्छौ ।’

गोल्डेन अस्पतास्थित आफ्नै औषधि पसलमा बसिरहेको बेला एक्कासी ठूलो संख्यामा आएका नगर प्रहरीले विवाद गर्दै आफूलाई लछार पछार गर्न थालेपछि घम्साघम्सी भएको राजकुमारले जानकारी दिए । त्यस क्रममा नगर प्रहरीले दुर्वाच्यसमेत बोलेको बताइएको छ ।

घटनाअनुसार सडकमा राखिएको एउटा सिटी रिक्सामा महागनरका प्रहरीले व्हिल लक लगाइदिएका थिए । चार घण्टासम्म नखोलेपछि आफू राजनीतिक पार्टीको अध्यक्ष भएको हिसाबले कुरा गरिदिन रिक्सा चालकले भनेपछि आफूले लक लगाउने नगर प्रहरीलाई ‘एक पटक माफी मगाएर, दोस्रो पटकदेखि गल्ती नगर्ने सर्तमा छाडिदिन आग्रह गरेको जानकारी दिए ।

यादवले भने, “गरिखाने मानिसलाई कनि दिनभरी त्यसै रिक्सामा लक लगाएर राख्नुहुन्छ । बरु अर्को पटकदेखि गल्ती नगर्ने सर्तमा छाडिदिनुहोस् भनेर म पसलतर्फ गएँ । तर, साँझमा एक्कासी हुल बाँधिएर आएका नगर प्रहरीले विवाद र गालीगलौज गर्दै मलाई दुव्र्यवहार गरे ।”

त्यस लगत्तै वडा प्रहरी कार्यालयमा छलफल भएको र घटनाबारे आफूले मोरङ प्रहरीलाई समेत जानकारी गराएको यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार