विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट सरुवा भए पनि रमाना नबुझेपछि मन्त्रालयमा २ जना सचिवले काम काज गरिरहेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय कोशीबाट डेढ महिना अघि सरुवा भएका मोहन चापागाईँ उता नगई मन्त्रालयमै बसेपछि एक मन्त्रालयमा २ सचिव काम काज गरिरहेका हुन् ।
चापागाईँको सरुवा भएपछि सो मन्त्रालयमा सिक्टा सिँचाई आयोजनाबाट सरुवा भएर रमेश कुमार सिंह मन्त्रालयमा आएका छन् । सरुवा भएर आएका सचिव रमेश कुमार सिंहले भदौ १० गते मन्त्रालयमा हाजिर गरेका छन् । सरुवा भए पनि अनिवार्य अवकाश हुने चापाँगाँई पनि मन्त्रालयमा आउने गरेका छन् । चापागाईँ र सिंह दुवैले मन्त्रालयमा आएर काममा गरिरहेको कर्मचारीहरू बताउँछन् ।
भौतिक पूर्वाधार मन्त्रालय कोशीका प्रशासन महाशाखाका प्रमुख राम प्रसाद फुयाँलका अनुसार सरुवा भएर आएका नयाँ सचिव भने बिदामा काठमाडौँ गएका छन् । हिक्मत कार्की मुख्यमन्त्री भएको बेला सात महिना अघि चपाइगाई भौतिक पूर्वाधार मन्त्रालय कोशीमा सरुवा भएर आएका थिए । सो भन्दा अघि पनि चापागाईँ सोही मन्त्रालयमा थिए । रिटार्यड हुन लागेकाले उनले मन्त्रालय नछाडेको पूर्वाधार मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले अनिवार्य अवकाश हुन लागेकाले मोहन चापागाईँ मन्त्रालयमै रहेको बताए । उनले केही दिन भित्रमै अनिवार्य अवकाश हुने भएकाले चपाँगाईका विषयमा आफूले धेरै खोजी नगरेको बताए । उनले मन्त्रालयमा २ सचिवले काम गरिरहेको बताए ।