विराटनगर : कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइएको छ। आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।
एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिए।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।
भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनिसकेको छ । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा भदौ ७ गते न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्षको समेत मत प्रयोग गरेपछि एमाले अदालत पुगेको थियो । थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।