विराटनगर : यसपटक भव्यताका साथ विराटनगरको राधाकृष्ण रथ यात्रा निकालिने भएको छ । हरेक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने परम्परा छ ।
यसपटक भदौ २१ गते रथ यात्रा निकाल्ने तयारी छ । रथ यात्राका लागि ५०१ जना रहेको समिति गठन गरेर तीव्र तयारी भइरहेको बताइएको छ ।
रथयात्रालाई विराटनगरका ४३ स्थानमा विश्राम लगाइने भएको छ। विराटगनर–१ तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा विराटनगरका ४३ स्थानमा विश्राम लिने टुंगो लागेको रथयात्रा आयोजक समितिले जानकारी गराएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथ यात्राको अवलोकन गर्नका लािग काठमाडौंसहित पोखरा, भरतपुर, ललितपुर र विरगञ्जका मेयरहरुलाई निमण्त्रणासमेत पठाएका छन् ।
विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधा, कृष्णको युगल जोडी सवार भव्य रथ यात्रा आयोजना गर्ने परम्परा छ। विराटनगरमा १९८८ देखि खट यात्राका रुपमा रथ यात्राको सुरुवात गरिएको थियो। त्यतिवेला भगवान राधाकृष्णको युगल जोडीको मुर्तिलाई खट(खाट)मा राखेर नगरको परिक्रमा गरिन्थ्यो। विराटनगरमा आधुनिक रथ यात्राको सुरूवाद भने विसं २०२५ सालदेखि भएको हो। विराटनगरमा आयोजना हुने रथयात्रामा नेपाल र सीमावर्ती भारतीय जिल्लाहरूबाट लाखौं भक्तजनहरू सहभागि हुने गरेका थिए।