Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीकी उपसभामुख सिर्जना दनुवारलाई के भएको हो ?



विराटनगर : सरकारको रस्साकस्सी चलिरहेको बेला कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार एकाएक काठमाडौंको गंगालाल हृदय रोग उपचार केन्द्रमा पुगिन् ।

सत्ता पक्षले विश्वासको मत लिने दिन अप्ठ्यारो पार्नेगरी उनी बाहाना बनाएर काठमाडौं गएको आरोप लगाए । मिडियाहरुमा पनि त्यही अनुरुप समाचारहरु आए ।

तर, उनको सचिवालयले उनी बिरामी भएको भन्दै विज्ञप्ती जारी गर्यो र अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गर्यो । सार्वजनिक भएको तस्बिरप्रति टिप्पणी गर्दै कतिपयले मुटु रोगको उपचार गर्ने तर छातीमा मोवाइल राखेर फोटो खिचेको भन्दै अविश्वास पनि देखाए । उनी निर्वाचित भएको पार्टी नेकपा एमालेका कतिपय सांसदहरुले हाँस्दै ‘…बिरामी हुनुभयो’ भन्दै व्यंग गर्न समेत भ्याए ।

तर, हामीले उपसभामुख दनुवारलाई सत्यतथ्य के हो भन्ने कुरा जान्नका लागि सोधिखोजी गर्यौ र उनको बिरामको बारेमा बुझ्ने प्रयत्न गर्यौ ।

बिरामी भएको बारे के भन्छिन् उपसभामुख सिर्जना दनुवार ?
उपसभामुख सिर्जना दनुवार लामो समयदेखि थाइराइड र हर्मोन कमी भएको औषधी सेवन गरिरहेकी थिइन् । पछिल्लो समय प्रदेशको सरकारको विषयमा भएको रस्साकस्सीको चेपुवामा परिन ।

पार्टीभित्रैबाट कतिपयले राजीनामा दिनुपर्ने र कतिपयले विदा बस्नुपर्ने भनेर दबाब दिन थाले र त्यसको तनावले उनको मुटुको धड्कन बढ्ने र छटपटी हुने क्रम बढ्यो । पछिल्ला केही दिनबाट उनी मानसिक तनावमा समेत थिइन् ।

जसका कारण उनलाई मुटुको समस्या देखा पर्यो । उनी विराटनगरबाट काठमाडौ गएर गंगालाल हृदय रोग उपचार केन्द्रमा भर्ना भइन् । त्यहाँ उनको चेकजाँच समेत भयो । एन्जीओग्राफीको रिर्पोट खतरा मुक्त आएपनि उनको स्ट्रेस (तनाव) मा कमी आएन ।

डाकटरले उनलाई कम्तिमा एक साता आराम गर्न सुझाएका छन् । जिम्मेवारीका कारण धेरै तनाव लिएको र अब केही समय सरकार र प्रदेश सभाको तनाव नलिन चिकित्सकहरुले उनलाई सुझाव दिएका छन् ।

सोही अनुरुपको औषधी पनि दिएका छन् । चिकित्सकको सल्लाहमा उनले अहिले औषधी सेवन गरिरहेकी छिन् ।
उनले आफू प्रदेशसभा सञ्चालनबाट नभागेको र प्रक्रिया मिलाएर नै जिम्मेवारी दिएर उपचार गर्न आएको बताइन् । उनले भनिन्, ‘त्यसैले मेरो अवस्था बाहिर आएको हल्ला जस्तो होइन म उपचारमै छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार