Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वासको मत लिने दिन उपसभामुख अनुपस्थित भए के हुन्छ ?



सभाध्यक्ष मण्डलका सदस्यहरु (बायाँतर्फ), उपसभामुख सिर्जना दनुवार (दायाँ)

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले सोमबार विश्वासको मत लिन लागेका हुन् ।

बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर बहुमत पुर्याएर बनेको थापा नेतृत्वको सरकार साउन १६ गते गठन भएको हो ।

सभामुखबिहीन रहेको कोशीमा अहिले उपसभामुख रहेकी सिर्जना दनुवारले सभा सञ्चालन गरिरहेकी छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । उनी एमालेबाट निर्वाचित सांसद हुन् ।

सभामुखबिहीन रहेको कोशीमा उपसभामुखले पनि राजीनामा नदिइ विश्वासको मत लिने दिन अनुपस्थित भए सभा कसरी सञ्चालन हुन्छ ? भन्ने प्रश्न अहिले सबैको चासोको विषय बन्न पुगेको छ ।

गठबन्धनको सरकार ढाल्नलाई एमालेले हरदम प्रयास गरिरहेको छ । सोमबार बस्ने प्रदेशसभाको बैठक कसले सञ्चालन गर्छ भन्ने विषयमा अहिले सबैको चासोको विषय बनेको छ ।

प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

यदि सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए उक्त नियमावलीअनुसार सभाध्यक्ष मण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

सभाध्यक्ष मण्डलका सदस्यहमा यसअघिनै चार जनाको मनोनयन भइसकेको छ । जसमा नेकपा एमालेकी मालती लिम्बू, कांग्रेसका इसराईल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन् ।

गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेको एमालेले विश्वासको मत लिने दिन उपसभामुखसहित अध्यक्ष मण्डलका विष्ट र लिम्बूलाई अनुपस्थित गराउन सक्ने गठबन्धनको अनुमान छ । बिष्ट राप्रपाका सांसद भएपनि प्रदेशमा एमाले र राप्रपाको सहकार्य हुँदै आएको छ । उनीहरु एउटै कित्तामा छन् ।

यस्तो अवस्थामा फेरि गठबन्धनबाट अध्यक्ष मण्डलमा सदस्य रहेका सांसदहरू कांग्रेसका मन्सुरी अथवा माओवादीकी तिम्सिनाले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार