विराटनगर : संखुवासभा जिल्ला कारागारमा भएको घटनाका दोषीलाई कारबाही हुने भएपछि मृत्यु भएका दुई कैदीबन्दीका आफन्तले शव बुझेका छन् ।
घटनामा संलग्न भएको आरोपमा कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारीपछि आफन्तले शव बुझेका हुन् ।
कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परिसकेका छन् भने कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे फरार छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी गरेको थियो ।
साउन २४ गते बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । कुटपिटबाट संखुवासभाको मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीविरूद्ध जाहेरी परेको थियो ।
किटानी जाहेरीपछि शवको पोष्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले आइतबारसम्म शव बुझ्न मानेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी हत्याको घटनामा १० प्रहरी र ५ कैदीबन्दीमाथि थप अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।