विराटनगर : जिल्ला कारागार संखुवासभामा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान कैदीबन्दीबीच कुटपिट हुँदा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश वलामी रहेको छन्।
बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए भने तोलांगीले जबरजस्ती करणीमा मुद्दा खेपिरहेका थिए।
गएराति १ बजे कारागारको ट्वाइलेटकाे झ्यालबाट भाग्न खोजेपछि उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको थियाे।
त्यसपछि उनीहरुलाई कारागारभित्र राखिएको र त्यसलगत्तै कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
उक्त घटनाको छानबिन गर्न समितिसमेत गठन भएको छ। सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।