Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मन्त्री छान्न माओवादीमा सधैँ लफडा, सभामुख त्यागेका बाबुराम अर्थमन्त्री बन्ने


  • Purbeli Press
  • बुधबार, साउन १७ २०८०

विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बन्ने भएका छन् ।

मंगलबार थापालाई मुख्यमन्त्री बनाउन गौतमले राजीनामा दिएर बहुमत पुर्याउन सहयोग गरेका थिए ।

यसअघि असार २१ गते सभामुख गौतमको छुट्टै हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिएको थियो ।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरेको हो । त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधान विपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।

माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार गौतमले आज साँझ शपथ ग्रहण गर्नेछन् । तर यसअघि माओवादीभित्र को मन्त्री बन्ने भन्ने विषयमा विवाद हुँदा मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको शपथ बेलुकालाई सारिएको छ । बुधबार बिहान साढे १० बजे शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहँदा गठबन्धन दलहरुको आग्रहमा समय सारिएको हो ।

थापाको शपथ साँझ ५ बजेका लागि तोकिएको छ । गठबन्धनको सरकार बनाउन आफ्नो सभामुख पद त्यागेका बाबुराम गौतमलाई मन्त्री बनाउने तयारी थियो । नेतृत्वबाट गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने आश्वासन पाएका थिए ।

तर, जीवन आचार्यले पनि सोही मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्रीको शपथ ग्रहण सारिएको बताइएको छ । गौमतलाई राजीनामा गराउनुपूर्व स्वयम पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।

प्रचण्डका ज्वाईंसमेत रहेका आचार्य यसअघि असार २१ मा थापा मुख्यमन्त्री बन्दा उनको क्याबिनेटमा अर्थमन्त्री थिए । त्यसो त आचार्य एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि ६ महिना मन्त्री भएका थिए ।

माओवादीमा सधैँको लफडा
जब कोशीमा नयाँ सरकार गठन भएर शपथ ग्रहण्को कार्यक्रम हुन्छ तबतब माओवादीभित्र मन्त्री को बन्ने भन्ने विषयमा विवाद चर्किन्छ । प्रदेशसभाको यो कार्यकालमा कोशीमा तेस्रो पटक सरकार परिवर्तन भएको ।

पहिलो पटक हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दा पनि माओवादीभित्र मन्त्रीको विषयमा चर्को विवाद देखिएको थियो । त्यही विवादका कारण मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा माओवादीबाट कोही पनि उपस्थित भएका थिएनन् । त्यसबेला जीवन आचार्यले मन्त्री नबनि नछाड्ने अडान र पार्टी केन्द्रले उनैलाई मन्त्री बनाउन दिएको निर्दशनका कारण विवाद देखिएको थियो । तर, अन्तिम समयमा आचार्य मन्त्री भए ।

दोस्रोपटक उद्धव थापाले शपथ ग्रहणपछि गठबन्धन दलबाट एकएक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए । तर, माओवादीले विवादका कारण मन्त्रीको नाम पठाउन नसक्दा उनले त्यसबेला कांग्रेस र नेकपा एसका एकएक जनालाई मन्त्री बनाए । पछि माओवादीले आचार्यसहित राजेन्द्र कार्कीको नाम पठायो ।

अहिले पनि सोही प्रकारको विवाद माओवादीमा यथावत छ । माओवादी स्रोतका अनुसार दुई पटक मन्त्री बनिसकेकाले यसपटक जीवन आचार्य मन्त्री बन्ने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार