उदयपुर : उदयपुरमा पछिल्लो समय डेङ्गुका बिरामीको संख्या बढ्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा सरकारी अस्पतालमा मात्र ५१ जनामा संक्रमण पुष्टी भएको छ ।
कार्यालयका अनुसार त्रियुगा नगरपालिकामा २१, बेलाका नगरपालिकामा २१, चौदण्डीगढी नगरपालिकामा ६ र कटारी नगरपालिकामा ३ जनालाई डेङ्गु संक्रमण देखिएको छ ।
जिल्लाका आठ पालिकामध्ये हाल यसको संक्रमण चार पालिकामा मात्रै देखिएको छ ।
जिल्ला अस्पताल गाईघाटका मेडिकल सुप्रिटेन्ट डा. ज्ञानेन्द्र झाले अस्पतालहरुमा बिरामीको चाप अत्याधिक बढ्न थालेको बताए । बिरामीहरुले अस्पतालमा धेरै भीडभाड हुँदा निजी मेडिकल तथा अस्पतालहरुमा उपचार गर्ने गरेका कारण पनि तथ्यांक संकलनमा जटिल भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा परिक्षण किट समेत सकिएको छ ।