Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हो हजुर, म त्यहि कमजोर केन्द्रीय कमिटी सदस्य हु…

युवराज बाँस्कोटा



कुरा अलिक पुरानो हो । गत वर्षको अन्तिम महिनाको अन्तिम साताको कुरा हो । झापाको गौरादह नगरपालिकाअन्तर्गत स्कुलचउनमा सम्पन्न कार्यक्रममार्फत आफ्नो सहभागिता जनाएर फर्कंदै थिएँ । एकजना साथीले सानो गफगाफ छ । तपाई अहिले कहाँ हो ? कतिखेर पथरी आइपुग्ने हो ? अर्जेण्ट छ, यसो खाजा खाँदै भेटघाट गरौँ न भनेर प्रस्ताव गर्नुभयो । मैले हुन्छ भने । साढे ४ बजेको हुनुपर्छ– हामी पूर्व निर्धारित शर्तानुसार गोरखा किचनमा भेट्यौँ ।

पार्टीले सम्पन्न मिसन ग्रासरुट अभियानअन्तर्गत मलाई झापाको गौरादह र गौरीगञ्ज गाउँपालिका खटाएको थियो, प्रमुख अभियन्ताको रूपमा पठाएको थियो । जमेर लागियो, खटियो । म सँगसँगै पार्टीको प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी सदस्य कमरेडहरू पनि जमेर लाग्नुभयो, खट्नुभयो ।

गोरखा किचन यसरी श्रृंगारिएको मलाई थाहा थिएन । यहाँ त बार पनि चल्न थालेको रहेछ । यसपूर्व जाँदा बार थिएन, सामान्य खाजा र खानाको प्रबन्ध मात्र हुने गर्दथ्यो । यसपटक भने निकै फेरबदल भएको पाएँ । खुशी लाग्यो ।

साथीले मोमोज खाउँ भनेर अर्डर गर्नुभयो । तयार हुन केही समय लाग्छ भन्ने प्रतिउत्तर पाएपछि हामी ढुक्कसँग गफगाफमा लाग्यौँ । पार्टेसन गरिएको अर्को कक्षमा केही विद्वान् व्यक्तित्व सहित साथीहरू अड्डा जमाएर बस्नुभएको रहेछ । उहाँहरूलाई पार्टेसन अघिल्तिर हामी बसेको थाहा थिएन, शायद ! रक्सीले जगाएको रौस पनि होला ! साथीहरूमा एकाएक उन्माद र रवाफपूर्ण गफगाफ चुलिन थाल्यो । मेरो सम्पूर्ण ध्यान यसतर्फ नै खिचियो । कान चनाखो बनाउँदै सुन्न लागे । केहीबेरमा मोमोज आयो । मोमोज खाँदा चम्मच बज्ने हो कि ! कसैको फोन आएपछि यसबीचमा उठाउनुपर्ने हो कि ! उठाउँदा मेरो मुखबाट आउने मेरो आवाजले तिनको गालीगल्लौजपूर्ण आलोच्य अभिव्यक्ति बिग्रने हो कि ! डर मलाई थियो ।

… ला, यत्तिकै केन्द्रीय सदस्य ! के को केन्द्रीय सदस्य ! दुई चारजना छाडा छौडा चलाउन सक्नुपर्दैन ? पन्ध्र बीसजना केटा अघिपछि लगाएर हिडाउँन सक्नुपर्दैन ? साथीभाइ र तिनसँगको उठ्बसका लागि चाहेको बेला खर्च गर्न सक्ने ह्याउ हुनुपर्दैन ? शहरबाहिर पनि हाम्रो जीवन छ, त्यहाँ पुग्ने, जाने र आउने साधन हुनुपर्दैन ? मानिसले पत्याइदिने गाडीघोडा हुनुपर्दैन ?

यत्तिकैमा अर्को साथीले रोक्नुहुन्छ र थप्नुहुन्छ– पढालेखा मानिस, लेख्ने र बोल्ने कला छ ऊसँग । के चाहियो हौ अब ? यति भन्दै गर्दा प्रतिउत्तर प्रकट हुन्छ– फेसबुकाँ, पत्रपत्रिकाँ, अनलाइनमाँ लेखर मात्र हुइन्छ नेता ? भाषण गर्न जानेर मात्र हुइन्छ नेता ? ड्याङडुङ गर्न सक्नुपरेन ?

यतिञ्जेलमा हामीले मोमोज पनि खाइसकेका थियौँ । उठ्ने बेलामा उहाँहरू पनि पार्टेसन पल्तिरबाट निस्कनुभयो । लाजले भुतुक्क मात्र हुनुभएन दुई जना त, शीर निहुराएर बाटो लाग्नुभयो । मेरो बारेमा यति धेरै खर्चपर्चको जोहो गरेर गफिन सक्ने साथीहरूलाई बसेको ठाउँबाट उठेर सम्मान जाहेर गर्दै बिदा गरेँ ।

मेरो मनमा धेरै थरीको प्रश्न जन्मिरह्यो, तैरीरह्यो ।

पार्टीले कोशी प्रदेशमा प्रचार कामको संयोजनका लागि मलाई अतिरिक्त जिम्मेवारी तोक्यो यसपाली फेरि । सातवटै प्रदेशले भेला सम्पन्न गरिसके । आफ्नो प्रदेशमा कसरी आयोजन गर्ने ? कसरी सम्पन्न गर्ने ? धेरै केही सोच्न पनि सकेको थिएन सुरुसुरुमा ।

साउन २ गते पत्रकार साथी बिक्रम लुइँटेललाई भेटघाट गरौँ न भनेर प्रस्ताव गरेँ । उहाँले दमक छु, विराटनगर घर फर्कदा तपाईको घर हुँदै फर्कन सक्छु, यदि तपाई पथरी भए भन्नुभयो । मैले सहर्ष आमन्त्रण गरेँ । केहीबेरपछि उहाँ आइपुग्नुभयो ।

भेटघाट भयो । परस्पर अंकमाल भयो । मैले आफ्नो पछिल्लो जिम्मेवारी र जिम्मेवारीअनुसार सम्पन्न गर्नुपर्ने कामको फेहरिस्त सहित योजना सुनाएँ उहाँलाई । कार्यसम्पन्न गर्ने कसरी ? स्रोत पहिचान र परिचालनबारे कुराकानी भयो ।

उहाँको प्रस्तुति नै कति मीठोमीठो ! हाँस्दैहाँस्दै बडो रोचक स्टायलमा एउटा कुरा भन्छु– मान्नुहुन्छ नि ! असजिलो नमादिनुहोला ल … भनेर मलाई सहमत गराउनुभयो ।

हेर्नुस्– तपाई लेखपढमा रमाउने भएकै कारण तपाईलाई यो क्षेत्रको जिम्मेवारी दिएको हुनुपर्छ पार्टी । उपयुक्त निर्णय गरेको छ । म त खुशी छु । तपाईले पनि सहजै नेतृत्व गर्नुहुन्छ भन्नेमा ढुक्क छु । तर यहाँको एउटा विकसित पछिल्लो ट्रेन कस्तो छ भनि नि ! यो जिम्मेवार अरु कखग कुनै नेतालाई दिएको भए प्रचारसम्बद्ध साथीहरू बधाई शुभकामना भन्दै अस्ति नै नेतृत्वको घरमा पुग्ने थिए र यो योजनामा आधारित कार्यसम्पादनका लागि स्रोत पहिचान र परिचालन सबै साथीहरूले गर्नु हुने थियो । केहीबेर त मैले कुरा बुझिनँ । लुइँटेलजीले पुनः अर्थ लगाउनुभयो । अब भने मेरो चित्तबुझ्यो । ममा अर्को खुशी थपियो ।

साथीभाइका अपेक्षाअनुसार आफूलाई व्यवस्थापन गर्न नसक्नु नै मेरो अयोग्यता हो त ? कतिपय विषयोपर प्रकट मेरो अभावजन्य उपस्थिति मेरोलागि अर्को अयोग्यता हो त ? ड्याङडुङ गर्न नसक्नु मेरो कमजोरी हो त ? कति धेरै कमजोर म ! एकातिर यो प्रश्न हृदयमा गडेको थियो भने पत्रकार मित्र बिक्रम लुइँटलले फरासिलो शैलीमा पस्कनुभएको शब्दोचारण मलाई टसमस हुन नसक्ने तहमा बाँध्यो ।

वास्तवमा कतिपय पात्र विशेष प्रवृत्तिले हामी कम्युनिष्ट नेता कार्यकर्तालाई कहाँ धकेलिरहेको छ ? मानिस किन किनारा लागिरहेको छ ? यो खालको अपेक्षा र मुद्दागत अनिवार्यता विद्यमान कम्युनिष्ट आन्दोलनको जीवन हो कि अदोगतिको यात्रा ? म मात्र होइन, मजस्ता हजारौँ नेता कार्यकर्ता कहाँ अलमलिएका छौँ ? कहाँ रुमलिएका छौँ ? थरिथरिका प्रश्नले निरुपण खोजिरहेको छ । निरुपण गर्न सकिरहेको छैन ।

सुकिलोमुकिलो होइन, काँचो माटोमा रमाउने ग्रामीण कृषकको छोरा । अधियाँकुधियाँ शर्तमा खेतबारी खोतल्ने कृषि पेशामा बाँचेको परिवारको उत्तराधिकारी । बाल्यकालीन खाँचो, अभाव र श्रमबजारको क्षेत्रमा उधिनिएको विभेद र समाजमा विभेदविरुद्धको आवाज उठाउने शक्ति कम्युनिष्ट हो भनेर कम्युनिष्ट आन्दोलनमा लागियो । कम्युनिष्ट आन्दोलनमा लागेयता अनवरत् इमानको मामिलामा जानेर प्रश्न उठ्ने ठाउँ दिएइन । श्रमजीवी जनताको पक्षमा सहकार्य गर्ने दृढ अठोटलाई एक इञ्च पनि गिर्न दिन सकिएन । मुक्तिकामी जनताको खुशहाल जीवननिर्वाहको सपना बोकेको आन्दोलन मेरो निष्ठा हो, निष्ठाको हिमाल झुक्नुहुन्न, झुकेको दिन सबै कुरा सकिन्छ भनेर लागियो । अवसरको अंकगणित चलाउन क्याल्कुलेटर बोकेर कहिल्यै हिडिएन । सदाचारयुक्त आचरण विकासले मात्र परस्परमा सबैलाई लोभ्याउन सकिन्छ भनेर बुझियो, तदनुरुप लागियो । प्राप्त राजनीतिक संगठन कमिटीका पद र हैसियतको दुरुपयोग गरिएन, दोहन गरिएन । शक्ति सन्तुलनभित्र भारबहन क्षमता भएतिर टाउको लुकाउन जानिएन, त्यो अनुकूल र प्रतिकूल ठाउँ हेरिएन । जनताको बहुदलीय जनवाद साँझबिहान रटान गर्ने गायत्रीमन्त्र, सौन्दर्यसूत्र र शास्त्र हो भनेर कहिल्यै बुझिएन । समाजका आधारभूत मूल्य निर्देशित जीवनमा पनि यसलाई प्रयोग र व्यवस्थापनमा ध्यान दिइरहनुपर्छ भन्ने मान्यताका साथ ग्रहण गर्न वाञ्छनीय ठानियो । यो सबै पक्ष पनि मेरो कमजोरी हो त ?

परस्पर सहअस्तित्वमा आधारित सम्मानमा अभाव छ । कतिपय अविश्वास, अन्तरविरोध र अन्तरघातले काम गरेको छ । खासगरि राजकीय अवसर बाँडफाँड र आकांक्षा राख्नेका बीचमा सम्बन्धको खाडल छ । आन्दोलनप्रति अपनत्वबोधको पक्ष कमजोर हुँदै गएको छ । यत्रतत्र ठोकिँदा पोखिने नेता कार्यकर्ताको जीवनशैली, कम्युनिष्ट सदाचार, अविश्रान्त लगन, हिमाल झैँ अग्लो र सग्लो इमान, निष्ठा आदिको पक्षमा सर्वग्राह्य आचरण अभाव छ । यो पनि मेरो कमजोरी हो त ?

यदाकदा नेतृत्वको ठालूपनको पनि प्रश्न उठ्ने गरेको सुनिन्छ । तिनको दैनन्दिन व्यवहारमा छाडिएका अवशेषले महशुस गराउछ । कामले भन्दा पनि चाकडी प्रिय स्वभावले नेतृत्वको रोजाइ आ–आफ्नै तालको छ । काममा जोड्न कतिपय बेलामा सम्पर्कमा नआइदिने, सम्पर्क गर्दा पनि पहुँचमा नरहिदिने बानी विकास भएको छ । प्रतिनिधिपात्रका हिसावले यो पनि मेरो कमजोरी हो त ?

झट्ट हेर्दा– कहिल्यै पनि केही अवसर नपाएका पार्टी सदस्यहरूले भावनात्मक रूपमा पार्टीलाई वचाइराखेको देखिन्छ । कम्तिमा एकपल्ट अवसर पाउनेहरूले फेरीफेरी नपाउँदां अपवाद वाहेक पार्टीलाई धमिल्याउने र हुँडलो हाल्ने काममा संलग्न भएको देखिन्छ । देखादेखी एकले अर्कोलाई सक्न सार्वजनिक ढंगले लाग्ने केही पार्टी नेता वा कार्यकर्ताहरूमा पार्टी भनेकै चुनावदेखि चुनावसम्म, अवसर र टिकटसम्मका लागि मात्र हो भन्ने देखिन्छ । पालिका कमिटीभन्दा माथिल्लो तहमा सबैभन्दा बढी असन्तुष्टि, परस्पर अविश्वास, अन्तरघात, अन्तर्विरोध र अत्यन्तै अलोकतान्त्रिक पात्र विशेष प्रवृत्ति मौलाएको देखिन्छ । कमिटीगत निर्णय प्रक्रिया सार्वभौम कमजोर र अमुक नेतृत्व सार्वभौम बन्दै गएको देखिन्छ । अपवादबाहेक अधिकांशमा सामाजिक इमान, राजनीतिक निष्ठा, कम्युनिष्ट आचरण, सदाचारयुक्त कार्यशैली, सरल–सादगी व्यवहार पूरै समाप्त भएको, अर्थात् ठालू सामन्तको जस्तो देखिन्छ । जनशैली र प्रगतिशील आचरण अनिवार्य पुर्नस्थापित गर्नुपर्ने देखिन्छ । अवसरहरूको बाँंडफाँडं न्यायोचित कसरी गर्ने ? अवसर पाउने र नपाउने बीचको भिन्नतालाई कसरी व्यवस्थापन गर्ने ? गम्भीर प्रश्न झाँङ्गिँदै गएको छ । पार्टीका घोषित कार्यक्रम नीति र चुनावताका तयार प्रतिबद्धताप्रति जनप्रतिनिधिहरूलाई कसरी व्यवस्थापन गर्ने र उनीहरूमार्फत समाजवादको आधार तयार गर्ने कार्ययोजना कार्यान्वयन कसरी गर्ने गराउने प्रशिक्षित गर्न आवश्यक देखिन्छ । पार्टी सदस्य नै आफैंमा एउटा महत्वपूर्ण पद हो र जिम्मेवारी पनि भन्ने कुराको मानक स्थापित गराउन जरूरी देखिन्छ । राजनीतिक र बैचारिक कामका लागि स्थायी स्कुल सञ्चालन अनिवार्य देखिन्छ ।

कम्युनिष्ट भइयो तर बनिएन होला ! कम्युनिष्ट पार्टीको सदस्यता लिएको होला ! तर आचरण विकास गर्न सकिएन । हुने र बन्ने फरकफरक कुरा हो । कम्युनिष्ट हुने कुराले समाजलाई सांगोपांगो अर्थमा बुझिन्छ, तर कम्युनिष्ट पार्टीको सदस्य बन्ने कुराले समाजलाई यसको वर्ग चरित्रअनुसार बुझिन्छ र आफू सुहाउँदो वर्गको पक्षपोषण गरिन्छ, वर्गोन्मुक्तिको पक्षमा लामबद्ध हुन सकिन्छ ।

हो हजुर, म त्यहि कमजोर केन्द्रीय कमिटी सदस्य हु…जसले परिस्थितिअनुरुप आजको नेपाली कम्युनिष्ट आन्दोलन, आन्दोलन निर्माणमा चाहिने आचरण र जीवनशैली निर्माणका लागि आधारभूत ज्ञान र विषयगत प्रशिक्षण अभाव हो भन्ठानेको छु ।

धन्यवाद !

(बाँस्कोटा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार