विराटनगर : सुनसरीको धरानबाट मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाँदै गर्दा मोटरसाइकलसहित बुधबार बिहान मोरङमा एक जना पक्राउ परेका छन् ।
चोरी गरेको मोटरसाइकल प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–२ टंकी चोकबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलसँगै चोरी गर्ने व्यक्ति धरान उपमहानगरपालिका–८ का २१ वर्षीय सुमन विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कोशी राजमार्गमा चेकजाँचका लागि इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक उज्वल शाक्य नेतृत्वमा खटिएको टोलीले चोरी गरेको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ८६ प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल शंका लागेपछि चेकजाँच गर्दा बिलबुक फेला नपरेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले मोटरसाइकल चोरी गरेको पत्ता लागेको मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार चोरी गरेको मोटरसाइकल धरान–७ का सुजन राईको हो । घरमै पार्किङ गरेर राखेको मोटरसाइकल बिहान २ः३० बजेतिर चोरी भएको थियो ।
पक्राउ परेका विकको साथबाट प्रहरीले आई फोन सेभेन मोबाइल पनि बरामद गरेको छ । उक्त मोबाइल मोटरसाइकल धनी राईकै रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विकलाई साथबाट बरामद भएको मोटरसाइकल र मोबाइलसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको डीएसपी दाहालले बताए ।