विराटनगर : गोरु काटेको आरोपमा खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीस्थित रमितेबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ऐसेलुखर्क ४ का २९ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय दावा तामाङ, २६ वर्षकै मोहन तामाङ, २८ वर्षीय मेखकुमार तामाङ र ५४ वर्षीय खिमा तामाङ रहेका छन् ।
गाउँमा गोरु काटेर मासु बाँड्दै गरेको थाहा पाएपछि प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको टोलीले घटनास्थलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङका अनुसार पक्राउ परेका पाँच जनालाई नै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
उनीहरुमाथि मुलुकी संहिताको पशुपन्छी सम्बन्धी ऐन अनुसार कारबाही अघि बढाइएको छ । सो ऐन अनुसार बढीमा ३ वर्षसम्म कैद र जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको उनले बताए ।