विराटनगर : धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति ९ बजे धनकुटा नगरपालिका–९ छिम्सुवास्थित मूलघाट–त्रिवेणी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी सहिदभूमि गाउँपालिका १ छिन्ताङका ६० वर्षीय नरबहादुर राईको मृत्यु भएको छ ।
को.६ प २१४९ नम्बरको मोटरसाइकल सडकमा पल्टँदा गम्भीर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ । उनी मोटरसाइलको पछाडि सवार थिए ।
यस्तै मोटरसाइकल चालक पूर्णबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । आवश्यक अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवैजना धनकुटा सदरमुकामबाट छिन्ताङ घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । बाटो चिप्लो भएर मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।