Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामाजिक सञ्जालको प्रयोग गरी अर्बौं ठगी गर्ने गिरोह उदयपुरबाट पक्राउ



विराटनगर : सामाजिक सञ्जालको प्रयोग गरी अर्बौं ठगी गर्ने गिरोहलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । बुधबार उदयपुरको कटारीबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

उदयपुर प्रहरीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालका अुनसार पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्यको पौडीगढवालका ३६ वर्षीय आईटी इञ्जिनियर प्रवीण भट्ट र मोरङ विराटनगर महानगरपालिका ६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका–२, सिम्राहाका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका–५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका १, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका–२० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, भाइवर, हृवाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट उनीहरुले एक अर्ब, नौ करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धमा खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध उदयपुरको कटारी नगरपालिका– ४ की ३६ वर्षीय सरिता तामाङले ठगीसम्बन्धी उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा ठगीमा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक फुयालले बताए ।

उनीहरुले गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी प्रभोलनमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक फुयालले भने, ‘सुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइदिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो ।’ जतिसक्दो छिटो सामान लिन विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेको पाइएको प्रहरी उपरीक्षक फुयालले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुण्डी कारोबारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी उपरीक्षक फुयालले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार