Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्ध एमालेले हालेको मुद्धा हेर्न नभ्याइने सूचीमा



विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

सर्वोच्च अदालतका न्याधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुने भनिएको मुद्धा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।

गत शुक्रबार एमालेले थापाको नियुक्ती संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रदेशमा असंवैधानिक तरिकाले सभामुख बाबुराम गौतमलाई हस्ताक्षर गराएर गठबन्धनले दाबी पेस गर्दा प्रदेश प्रमुखले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त निर्णय विरुद्ध एमालेले रिट दायर गरेको हो । एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ ।

एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार