माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर : विवादास्पद कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट को मन्त्री हुने भन्ने विवाद उत्कर्षमा पुग्दा शुक्रबार कोही पनि मन्त्री हुन सकेनन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका उद्धव थापाको शपथ ग्रहण बिहान ८ः३० बजेतिर राखिएको थियो ।
तर, एक घण्टाभन्दा बढी समयसम्म माओवादीबाट मन्त्री नाम नआएपछि मुख्यमन्त्रीले शपथ लिएर कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबु विनाविभागीय मन्त्री भए ।
माओवादीका नेताहरुले एकैछिनमा मन्त्रीको नाम दिने भन्दै बैठक बसेपनि सहमति हुन सकेन । माओवादीभित्र सभामुखको हस्ताक्षरलाई समेत लिएर विवाद भइरहेको बेला मन्त्री को जाने भन्ने विषयको विवाद उत्कर्षमा पुग्यो ।
पूराना मन्त्री जीवन आचार्य र दुर्गा चापागाईंलाई पठाउने कि नयाँलाई पठाउने भन्ने विवाद सिर्जना भएपछि माओवादीले कुनै मन्त्रीको नाम टुंग्याउन सकेन । केहीले जीवन आचार्यलाई मात्रै मन्त्री बनाउनुपर्ने भन्ने अडान लिए । केहीले दुवैजना पूराना र केहीले नयाँ भन्ने आफ्नोआफ्नो कुरा आएको बैठकमा सहभागी माओवादी केन्द्रका एक सांसदले बताए ।
सांसद जीवन आचार्य भने मन्त्री हुने तयारीका साथ बसेका थिए ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बैठकको आयोजना गरेका थिए । कुन तहको कस्तो बैठक आयोजना गरियो त्यो खुलाइएको छैन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सचिव एवं सांसद गणेश उप्रेतीले बैठकको बारेमा आफूलाई थाहा नभएको बताउँदै अहिलेको माओवादीको कदम गलत भएको बताए ।