खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको नाममा नगरबासीबाट पैसा लिएको पाइएको छ । नगरपालिकाकी मेयर विमला राईले जेठको अन्तिम साता तामझामका साथ जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्सको उद्धाटन गर्दै गर्भवती र सुत्केरीका लागि निःशुल्क सेवा प्रदान गर्ने उद्घोष गरेकी थिइन् ।
गर्भवती र सुत्केरीले नजिकैको स्वास्थ्य चौकीमा जादाँ अथवा स्वास्थ्यकर्मीको रेफरमा बाहिर अस्पतालसम्म जान होस् निःशुल्क एम्बुलेन्स सेवा दिने नगरपालिकाले निर्णय गरेको बताएकी थिइन् । तर, त्यसको केही समय नबित्तै उनले आफ्नै बोलीविरुद्ध काम गरेकी छिन् । नगरपालिकाले बाहुनीडाँडाकी एक सुत्केरी महिलासँग एम्बुलेन्स प्रयोग गरेबापत चर्को शुल्क लिएको हो ।
बाहुनीडाँडाकी अनिमाया राईसँग नगरपालिकाले नगर अस्पताल बाहुनीडाँडा सिमलचौर हुँदै काठमाडौंसम्म लगेको २१ हजार १ सय रुपैयाँ शुल्क लिएको छ ।
सुत्केरीका लागि निःशुलक एम्बुलेन्स सेवा दिने प्रतिवद्धता भुलेर बिरामीबाट चर्को शुल्क लिएपछि अहिले नगरपालिका र नगरपालिकाकी मेयर राईको चर्को आलोचना हुन थालेको छ । उनीहरुविरुद्ध सामाजिक सञ्जालमा धरैले विरोध जनाइरहेका छन् ।
नगरपालिकाले २३ लाख ८७ हजार ५५० रुपैयाँ बजेट खर्च गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।
