कोशी प्रदेशमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भूमिकामा रहेको छ । प्रदेशसभामा राप्रपाका ६ जना सांसद छन् । गत शुक्रबार एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत गुमाउँदा उनलाई राप्रपाले विश्वासको मत दियो । सरकार गठनको समयबाट नै एमालेसँगको सहकार्यमा रहेको राप्रपाले अब प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयको निर्णय लिने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन् । तर, जसपाले कुनै पनि दललाई सरकार बनाउन सहयोग नगर्ने निर्णय गरिसकेकाले यस्तो अवस्थामा राप्रपालाई गठबन्धनमा सामेल गराएर सरकार बनाउने कांग्रेस र माओवादीको रणनीति छ ।
प्रदेशसभामा अहिले निर्णायक शक्तिका रुपमा रहेको राप्रपाले केन्द्रीय गठबन्धनमा रहेका दलहरुलाई सरकार गठनमा सहयोग गर्छ या कसरी अघि बढ्छ ? अब प्रदेशमा राप्रपाको भूमिका कस्तो रहन्छ ? राप्रपा मध्यावधिको पक्षमा छ कि छैन् ? यी र यस्तै विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पूर्वेलीप्रेसले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
राप्रपाले विश्वासको मत दिए पनि नेकपा एमालेका हिक्मतकुमार कार्कीको नेतृत्वामा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत पाउन सकेन । अब राप्रपाको भूमिका कस्तो रहन्छ ?
हामीले चुनावदेखिनै एमालेसँग सहकार्य गरेका छौँ । निर्वाचनपछि आएको फेरबदलसँगै हामी प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागी पनि भयौँ । तर, राजनीतिक घटनाक्रमले राप्रपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा मात्रै सहभागी थियो । त्यसो सरकारले पनि विश्वासको मत पाउन सकेन । अब भर्खर मात्र सरकार गठनको प्रक्रिया सुरु भएको छ । हेरौँ राजनीतिक दलहरुबाट कस्तो कुरा आउँछ अनि हामी छलफल गरेर के गर्ने भन्ने विषयको निष्कर्षमा पुग्छौँ ।
प्रदेशमा अहिले राप्रपा सरकार निर्माणको निर्णायक शक्ति पनि हो । कांग्रेस र माओवादीबाट मिलेर जाऔँ भन्ने प्रस्ताव आयो भने के गर्नुहुन्छ ?
अहिलेसम्म हामीसँग सहयोग गर्नुपर्यो भनेर कसैले पनि कुरा गर्नुभएको छैन् । हामीले पनि दलभीत्र छलफल गरिसकेका छैनौ । कसैले प्रस्ताव राख्नुभयो भने अनि त्यतिबेला नै के गर्ने भन्ने विषयमा छलफल हुन्छ । राप्रपालाई गठबन्धनमा सामेल भइहाल्न कुनै हतार छैन । तर, प्रस्ताव आइरहँदा पनि हामी त्यसै पदका लागि मात्रै जादैँनौ । ठोस अवधारणा चाहियो नि । अब बन्ने सरकारले जनतालाई डेलिभरी दिन पनि त सक्नुपर्यो । हामी समर्थन गर्नै पर्ने अवस्था आयो भने पनि उहाँहरुको योजना र कार्यक्रम हेर्छौ ।
यसको मतलब एमालेसँगको सहकार्यले निरन्तरता पाउने हो ?
अहिलेसम्म त हामी एमालेसँगै बसेर काम गरिरहेका छौँ । हाम्रो पहिलो प्राथामिकता एमालेनै हुन्छ । हेरौ गठबन्धनका साथीहरुबाट कस्तो खालको कुरा आउँछ अनि हामी एउटा अवधारणा तयार पारेर अघि बढ्छौँ ।
मध्यावधिमा जान सक्ने अवस्था आयो भने नि ?
चुनाव हुने अवस्था आयो नै भने पनि हामी त्यसको सामना गर्छौ । राप्रपा चुनावबाट भाग्दैन ।