Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुखबाट राजीनामा दिने तयारी गरेको छैन् : सिर्जना दनुवार



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिँदै छन् । जटिल राजनीतिको भुमरीमा फसिरहेको कोशीमा सत्ता गठबन्धनले दुखले ४७ सांसदको बहुमत पुर्याएर सरकार बनाएको हो । किनकी सरकार बनाउन एक सांसुद नपुगेपछि सभामुख रहेका बाबुराम गोमतले पदबाट राजीनामा दिएका थिए ।

कोशी प्रदेश अहिले सभामुखबिहीन छ । प्रदेशमा एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । अहिले बाहिरीरुपमा उपभामुखलाई पनि एमालेले राजीनामा गराउन सक्ने चर्चा छ । तर, उपसभामुख दनुवार त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्दै आफू जिम्मेवारीबाट भाग्ने तयारीमा नरहेको बताउँछिन् ।

९३ जना सांसद रहेको कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ । जसमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी १३, राप्रपा ६, नेकपा एस ४ र जसपाका एक सांसद छन् । अहिले थापाको नेतृत्वमा ४७ जना सांसद एकातिर र एमालेको गठबन्धनमा राप्रपासहित ४६ सांसद छन् ।

संसदीय अंकगणितका कारण प्रदेशको राजीनित पेचिलो बन्दै गएको उपसभामुख दनुवारको निष्कर्ष छ । प्रदेशमा सबै दलहरु मिलेर निकाश दिनुपर्ने उनको भनाइ छ । अहिले प्रदेशको राजनीतिक अवस्था, दलहरुले गर्नुपर्ने काम, सरकारले लिने विश्वासको मत र उपसभामुखको अबको भुमिकाका विषयमा दनुवारसँग पूर्वेलीप्रेसले छोटो संवाद गरेको छ । प्रस्तुत छ, कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारसँग गरिएको कुराकानीको सम्पादित अंश :

सभामुखले पनि सरकार नबन्ने अवस्थामा आयो भन्दै पदबाट राजीनामा दिनुभयो । बाहिर अहिले उपभामुखले पनि राजीनामा दिने भने हल्ला चलिरहेको छ नि ? राजीनामा दिन लाग्नु भएको हो ?

बाहिर त जे पनि हल्ला भइरहन्छ नि । तर, सत्यता के हो पहिला बुझ्नुपर्छ । मैले अहिले उपसभामुखबाट राजीनामा दिने तयारी गरेको छैन् । राजीनामा दिएर जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन् । सभा सञ्चालन गर्छु ।

तपाईंको दल नेकपा एमालेले राजीनामा दिन दबाब दियो भने नि ?

अहिलेसम्म मलाई पार्टीका नेताले राजीनामा दिन सुझाव दिनुभएको छैन् । पार्टी आफ्नै धारणा छ । पार्टीका नेताले पटकपटक सार्वजनिक रुपमै एमालेले उपसभामुखलाई राजीनामा नगराउने भनेर भनिरहनुभएको छ । निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पनि धेरै पटक मिडियाहरुमा उपसभामुखलाई एमालेले राजीनामा नगराउने धारण राखिरहनुभएको छ ।

अनि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन ३ गते समय माग्नुभएको थियो । तपाईं एक दिनपछि सारिदिनुभयो नि, किन ?

खासमा मैले पवित्र सोचले समय बढाइदिएको हो । १३ गतेसम्म विश्वासको मत लिने समय छ । समय भयो भने सहज रुपमा सरकारले विश्वासको मत लिन सक्छ कि भन्ने उद्धेश्यले मैले समय थप गरे । यसले सरकारलाई नै सहयोग हुन्छ । समय बढी हुँदा उहाँहरुले अरु दलसँग पनि छलफल गरेर सहमति गर्न पाउनुहुन्छ । कुनै स्वार्थ लिएर मैले समय बढाएको भने होइन् ।

अब अहिले सभामुखको भूमिकामा हुनुहुन्छ । प्रदेशको राजनीतिलाई चाहिँ कसरी हेरिरहनु भएको छ ?

कोशी प्रदेशको राजनीति पेचिलो छ । यसको मुख्य कारण भनेको दलहरुले ल्याएको सिट संख्या हो । अर्को कुरा के हो भने अझै पनि राजनीतिक दलहरु संवेदनशील नभएको हो कि जस्तो लाग्छ । अब पनि ढिला गरियो भने हामी झन् ठूलो अप्ठ्यारोमा पुग्छौ जस्तो लाग्छ मलाई । सबै मिलेर, सहमति गरेर अघि बढ्नु नै उचित हुन्छ ।

सरकारको काममा सन्तुष्ट हुनुहुन्छ ?

कोशीको समग्र विकास र समृद्धिका लागि बनाउनुपर्ने ऐन कानुनहरु बनेका छैनन् । जनतालाई जुन हिसाबले डेलिभरी सर्भिस दिनुपथ्र्यो त्यो कुराहरु ठप्प भएका छन् । हाम्रो प्रदेशमा जुन गणितीय खेल छ, निर्वाचनबाट कसैको बहुमत नआएको कारण सबै दल मिलेर जानुपर्ने, एउटा सहमति गरेर अघि बढ्नुपर्नेमा अवस्था छ । तर, त्यस्तो नभइरहेको स्थिति छ । अरु कमेन्ट नगरौँ ।

अन्तयमा के भन्नुहुन्छ ?

सबै दल मिलेर जानुपर्छ । सहमटि जुटाउनुपर्छ । निकाश दिनुपर्छ । प्रदेशमा समृद्धि र विकासमा लागि सबै लाग्नुपर्छ ।

प्रस्तुति : प्रवेश बिष्ट

प्रतिक्रिया
सम्बन्धित समाचार