विराटनगर : प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि आज विश्वासको मत सम्बन्धि प्रस्तावमा मत विभाजन भएको थियो ।
मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका ४० जना सांसद र राप्रपाका ६ जना गरी ४६ जना सांसदले समर्थन गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २८, माओवादी केन्द्रका ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४३ जना सांसदले विपक्षमा मतदान गरे । आजको मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए ।
मतदानमा सहभागी नहुने निर्णय गरेको जसपाकी एक्ली सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित थिइन् । तटस्थ बस्ने पार्टीको निर्णय भएपनि फ्लोर क्रस गर्ने आशंकाको डरले उनलाई बाहिर पठाइएको जसपा स्रोतले जनाएको छ । जसपा कोशी प्रदेशका एक नेताका अनुसार सांसद लिम्बूसँग पार्टीका नेताहरु सन्तुष्ट छैनन् । समानुपातिक सांसद भएकाले उनलाई हटाउने मत पनि पार्टीभित्र बलियो भएको ती नेताले बताए ।
यस्तै विपक्षी गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक/एक जना सांसद पनि मत विभाजन प्रक्रियामा सहभागी भएनन् । उनीहरु प्रदेशसभा बैठकमा सहभागी भएर पनि बाहिर निस्किएका हुन् ।
वर्तमान सरकारलाई बहुमतका लागि एक सांसद अपुग रहेका कारण गठबन्धन दलका नेताहरुले सबै सांसदलाई शंकाको घेरामा रोखका थिए ।
यस्तो अवस्थामा कांग्रेसकी ममता तामाङ र माओवादी केन्द्रका नारायण बुर्जा मगर अनुपस्थित भएका कारण आशंका उब्जिएको छ । किनकि उनीहरु बैठकमा सहभागी भएर पनि मतदानमा सहभागी भएनन् ।
केही समय बैठकमा सहभागी भएको स्वीकार गर्दै मगर र तामाङले एउटै प्रतिक्रिया दिएका छन् । आफूहरु बिरामी भएका कारण अचानक बैठकबाट बाहिरिएको उनीहरुको तर्क छ ।
माओवादी सांसद मगरले आफू प्रेसरको बिरामी भएको र अचानक प्रेसर बढेपछि स्वास्थ्य जाँचका लागि निस्किएको बताए । उनले भने, ‘केही समय बैठकमै थिए । तर, अचानक प्रेसर बढेपछि उपचारका लागि बाहिर निस्किएको हो ।’
यस्तै कांग्रेस सांसद तामाङले पनि आफूलाई ज्वरो आइरहेकाले बैठकमा बस्न असहज महशुस भएकाले निस्किएको प्रतिक्रिया दिइन् । आफू लामो समयदेखि टन्सीलको बिरामी भएको उनको भनाइ छ ।
‘मलाई अहिले पनि ज्वरो आइरहेको छ, मेरो टन्सिल बिग्रिएको छ, बैठकमा बस्न नसक्ने भएपछि त्यहाँबाट निस्किएर अहिले आराम गरिरहेको छु,’ उनले बताइन् ।
सामान्यतया प्रेसर, ज्वरो लगायतका बिरामीको औषधिउपचार गर्ने व्यवस्था प्रदेशसभा भित्र नै हुने गर्छ । प्रदेशसभा सचिवालयले स्वास्थ्यकर्मी नै राखेर सामान्य रोगको उपचार गर्ने गरेको छ । तर, फ्लोर क्रसको डरले उनीहरुलाई पार्टीले बाहिर पठाएको हुन सक्ने आशंका चलेको छ ।