विराटनगर : नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार संकटमा परेको छ । गत पुस २५ गते चार दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा छ । उनले आज विश्वासको मत लिने कार्यसूचि छ ।
प्रदेशसभाको बैठक बस्नुअघि बसेको राजनीतिक दलहरुको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसेर मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
कांग्रेस सांसद केदार कार्कीका अनुसार दलको बैठकले कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्री कार्कीले नेकपा एमाले कोशी प्रदेश संसदीय दलको तर्फबाट पत्र पठाउँदै विपक्षी दलहरुसँग मत दिन आग्रह गरेका थिए । उक्त पत्रका विषयमा बैठकमा कुनै छलफल नभएको सांसद कार्कीले बताए ।
माओवादी र नेकपा एसले पनि कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने भनेर सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।
नेकपा एसकी सांसद विद्या चाम्लिङले आफूहरु सुरुदेखि नै सरकारको विपक्षमा रहेका कारण अहिले समर्थन गरेर जान नसक्ने बताइन् ।
सत्ता साझेदार राप्रपाले एमालेसँगको सहकार्य जारी राख्ने निर्णय गर्दा एक सांसद रहेको जसपा तटस्थ बस्ने भएको छ । प्रदेशका पूर्वमन्त्री तथा जसपाका नेता जयराम यादवले आफ्नो पार्टी पक्ष र विपक्षमा कुनैमा पनि भोट नदिने बताए । उनले भने, ‘हामी कोशीमा तटस्थ बस्छौँ, किनभने हामीले पहिचानको कुरा उठाउँदै आएको छौँ । कोशी नाम राख्न एमालेमात्र संलग्न छैन्, कांग्रेस र माओवादीको पनि उत्तिकै भूमिका छ । त्यसैले हाम्रो पार्टी अहिले तटस्थ बस्छ ।’
योसँगै कार्की नेतृत्वको सरकार संकटमा परेको छ । कार्कीलाई एमाले र राप्रपाको समर्थन रहँदा ४६ सांसद हुन्छन् । कोशीमा सरकार बनाउन ४७ सांसद चाहिन्छ ।
सरकारमा सहभागी भएको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि आज कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।