Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने



काठमाडौं । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९÷०२÷२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ, ‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

अर्थतन्त्रमा मनसुनको प्रभाव
नेपालको सन्दर्भमा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने काम मनसुनले गर्ने गरेको छ । जनताको जीविकासँग जोडिएको मनसुन यो वर्ष एक साताअघि आउँदा कृषि क्षेत्रमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ ।

त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । त्यसले देशको कुल गार्हस्थ उत्पादन बढाउँछ । मनसुनले बालीनालीको उत्पादकत्व मात्र बढाउँदैन, धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ । रनअफ दि रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ । बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन् । अर्थतन्त्र चलायमान हुन्छ ।

कहाँबाट भित्रिन्छ मनसुन ?
नेपालमा मनसुन बंगालको खाडीबाट आउने धेरैले भन्ने गरेका छन् तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ ।

भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावा’bout बुझ्नुपर्छ ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ । उत्तरी र दक्षिणी गोलाद्र्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ । त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ । दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए । एउटा ध्रुवमा तीनवटासम्म यस्ता जेट स्ट्रिम हुन्छन् । जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन् । मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरकफरक भइरहन्छ ।

दुवै ध्रुवनजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ । ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ । चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन् । जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलाद्र्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ ।राजधानी दैनिकाबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार