विराटनगर : तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गको रंगेली खण्डमा वृक्षरोपण गरिएको छ । आइतबार रंगेली नगरपालिकाको बेतौनादेखि मधुवनीसम्म ५ किलोमिटर सडकको डिभाइडरमा वृक्षरोपण गरिएको हो ।
वन तथा भू-संरक्षण विभाग बबरमहल काठमाडौंको आर्थिक सहयोग, रंगेली नगरपालिकाको समन्वय, सव डिभिजन वन कार्यालय आमतौलाको प्रविधिक सहयोगमा रंगेली डिभाइडर वृक्षरोपण उपभोक्ता समितिको आयोजनामा वृक्षरोपण गरिएको हो ।
करिब ४१ लाखको लागतमा सडकको बिचमा बत्ती र वृक्षरोपण गरिएको हो । हुलाकी सडकको रंगेली खण्डमा ६ लेनको सडक बनाइएको छ ।
नगरलाई हरित नगरीको रुपमा विकास गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख दिलीप बगडियाले बताए । वृक्षरोपण गर्ने तर त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने उल्लेख गर्दै रोपिएका बिरुवाहरुको संरक्षणमा विशेष ध्यान दिइने उनले बताए ।
वृक्षरोपण कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल र क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डललगायतको सहभागीता रहेको थियो ।