विराटनगर : तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गको मोरङ खण्डमा यतिबेला यात्रा गर्न निकै सकस पर्छ ।
कोशी प्रदेशको राजधानी विराटनगरदेखि झापा जोड्ने उक्त सडक हिलो र धुलोको सास्ती वर्षौंदेखि छ । सडक निर्माणाधीन अवस्थामा छ ।
सामान्य पानी पर्दा सडक हिलाम्मे हुन्छ भने घाम लाग्दा धुलो उडेर सर्वसाधारणलाई यात्रा गर्न कठिनाइ पर्छ ।
पानी नपर्दा धुलोबाट आजीत स्थानीयहरु वर्षा सुरु भएसँगै हिलाम्मे सडकमा सास्ती भोग्न बाध्य भएका छन् ।
सडक निर्माणकार्य सुस्त हुँदा वर्षौंदेखि जनता निराश भएका छन् । मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको निर्माण कार्य समयमै पूरा नहुदा हिउँदमा धुलो र वर्षात्को समयमा हिलोबाट आमनागरिक पीडित हुँदै आएका छन् ।
वर्खाको समयमा सडक हिलाम्मे र बाटोमा खाल्डाखुल्डी हुदाँ बिरामी तथा सुत्केरी महिलाहरुलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको रंगेलीका विनोद यादवले बताए ।
रंगेली नगरपालिकामा भने ६ लेनको सुविधासम्पन्न सडक निर्माण भइसकेको छ ।
विराटनगर–आमबारी सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडक धुलाम्ये, खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासीको गुनासो छ ।
तस्बिरहरू :
