विराटनगर : सप्तकोशी नदीको कटानको उच्च जोखिममा रहेको उदयपुरको बेलकातर्फको भागमा तटबन्ध निर्माण सुरु गरिएको छ । सप्तकोशीको बाढीले केही वर्षदेखि बेलकातर्फको भागमा क्षति पुर्याउँदै आएको छ ।
केही दिनअघि मात्रै सप्तकोशीमा आएको बाढीले बेलका नगरपालिका वडा नम्बर ८ को पश्चिमतर्फ कटान २५ मिटरभन्दा बढी क्षेत्रमा कटान गरेको थियो । तर, पानीको बहाब घट्दै गएपछि त्यसले कुनै क्षति भने गरेन ।
वर्खा सुरु भएका कारण कोशीको बाढीबाट हुने सम्भावित खतरालाई रोक्न नगरपालिकाले विपद् कोषबाट कटान रोकथामको काम सुरु गरेको छ । वडा नम्बर ८ लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि कटान रोकथामका लागि तटबन्ध निर्माण थालिएको हो ।
सप्तकोशीको बाढीबाट गत वर्ष बेलका नगरपालिका वडा नं २, ३, ८, ९ र सुनसरीको बराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडा गरी करिव दुई हजार पाँच सय घर प्रभावित बनेका थिए ।
डुम्रीबोटे क्षेत्रमा जलश्रोत तथा सिंचाई विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्त समितिमार्फत एक सय ७० मिटर लामो र तीनमिटर उचाई भएको बिगबोल्डर स्लोप निर्माण भइरहेको छ ।
कोशी पुन गाउँतिर पस्ने खतरा बढेकोले पुन बिगबोल्डर स्लोप निर्माण गरिएको वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।