विराटनगर : ताप्लेजुङका बाढीपहिरो पीडितका लागि कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारले बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त क्षेत्रमा राहत सामग्री पठाएको हो ।
केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट ताप्लेजुङको सिदिंवा–६ मेहेलेमा तीन जनाको मृत्यु भइसकेको छ । तीन जना अझै बेपत्ता छन् । अविरल वर्षाका कारण विशेषगरी सिदिंवा ६ मेहेले बाढी पहिरोको अत्यधिक जोखिममा रहेको छ ।
लगातारको वर्षासँगै बाढीपहिरो आउँदा मेहेलेमा खाद्यान्न समेत अभाव हुन थालेपछि लत्ताकपडा, टेण्टसहित स्वास्थ्य सामग्री पठाइएको हो ।
ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेण्ट लिएर आएको हेलिकप्टरमा सदरमुकाम फुङ्लिङबाट थप भाँडावर्तन र कपडा पठाइएको छ ।
मेहेलेमा बाढीपहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी स्थानीय निलगिरी माध्यमिक विद्यालयमा बसिरहेका छन् ।