Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुई करोडले ल्याएको मुस्कान



मंसिरको निर्वाचनपछि प्रदेशसभामा निर्वाचित हुँदैगर्दा प्रदेश सांसदहरु प्रफुल्लित देखिन्थे । जब सरकार बन्यो र मन्त्रीहरु बने र बजेट वितरण र प्रदेशको आर्थिक अवस्था देखेपछि धेरै नयाँ अनुहारका निर्वाचित सांसदहरुमा उत्साह देखिँदैन थियो । लगभग ६ महिनाको अभ्यासमा निर्वाचित सांसदहरु मन्त्रीहरुकोमा डेढ लाख, दुई लाखका लागि सोर्स लगाउन दैलो चाहार्दै गरेको देख्दा सरकारी कर्मचारीहरु पनि उनीहरुको अवस्थाप्रति दिग्दारी व्यक्त गर्थे ।

एक ढंगले भन्नुपर्दा, प्रदेशका सांसदहरु निरिह जस्तै देखिन्थे । केन्द्रको सांसदहरुको पहुँच राष्ट्रियस्तरमा हुने र उनीहरुले संघीय मन्त्रालयमा धाउँदा आफ्नो निर्वाचन क्षेत्रमा दुई चार करोड रुपैँया लानु सामान्य जस्तै हुन्थ्यो ।

तर, प्रदेश सांसदहरु यो गर्मीको मौसममा योजना माग्दै मन्त्रालय जाँदा १०/१५ लाखका योजनाको ग्यारेन्टी हुँदा ठूलो उपलब्धी हासिल गरेजस्तो अनुभूति भइरहेको थियो । स्थानीय तहले पनि नपत्याउने र प्रदेश सरकारमा पनि मन्त्रीहरुको क्षेत्रमुखी दृष्टिकोणले प्रदेश सांसदहरु ओझेलमा परिहरहेका छन् । यस्तो अवस्थामा दुई करोड रुपैयाँको बजेट आफ्नो सिफारिसमा बाँड्न पाउनु उनीहरुलाई निर्वाचन क्षेत्र प्रवेश गर्ने एउटा आधार तय भएजस्तै देखिन्छ । हिजो कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले सांसदहरुलाई एक अर्ब ५० करोड बजेट छुट्याएको घोषणा गर्दा बजेट सार्वजनिक कार्यक्रममा सांसदहरुको अनुहारमा मुस्कानको अनुभूति थियो ।

समानुपातिकलाई एक करोड र प्रत्यक्ष निर्वाचितलाई दुई करोड दिनेगरी अध्यादेशमार्फत ल्याइएको बजेटले एक ढंगले भन्नुपर्दा मुस्कानको बहाब छरेको छ । हुनत संसद विकास कोषलाई आम वौद्धिक क्षेत्रबाट नकारातमक दृष्टिकोणले हेरिएको छ । स्वभाविक रुपमा नीति निर्माण गर्नेले विकास बाँड्नु हुँदैन भन्ने विषय सैद्धान्तिक रुपमा सहमत हुन सकिन्छ । तर, हाम्रो निर्वाचन प्रणालीले घरआगनको विकास गरिदिनेलाई मात्रै भोट दिने परिपाटी सिर्जना गर्दा कतिपय सांसदले आफ्नो आश्वसन पुरा गर्न सैद्धान्तिक रुपमा मान्न नसकिने यस्ता विकासे कोषलाई साहारा लिनु परेको छ ।

दुरुपयोग नहुने हिसावले वितरण प्रणार्लीलाई व्यवस्थित गरियो भने यसबाट पनि उपलब्धि हासिल गर्न सकिन्छ । विगतको पाठबाट शिक्षा लिँदै यसलाई व्यवस्थित गर्नु उत्तम हुन्छ । हरेक हिसाबले निरीह बन्दै गएका प्रदेश सांसदलाई दिइँदै आएको रकम सदुपयोग होस् । जसरी हिजो बजेट पढ्दै गर्दा सांसदका मुहारमा मुस्कान देखिएको थियो त्यसरीनै त्यो बजेटले जनताको मुहारमा मुस्कान छर्न सकोस् । अहिलेलाई यत्ति….

प्रतिक्रिया
सम्बन्धित समाचार