विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य सेवा विस्तार र विविधीकरणका लागि ३ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले “स्वस्थ नागरिक, सक्षम प्रदेश” आधारभुत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्दै प्रदेशका सबै जिल्लामा रहेका स्वास्थ्य सेवाको विस्तार र पूर्वाधारको विकास गर्ने बताए ।
सरकारले असहाय तथा विपन्न नागरिकहरुलाई कडा रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन “प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम” संचालन गर्न बजेट बिनियोजन गरेको छ ।
किटजन्य रोग रोकथाम तथा नियन्त्रणमा जैविक लार्भिसाइड प्रयोग गर्ने कार्यक्रम संचालनका लागि ५ करोड विनियोजन भएको छ । सरकारले प्रदेशका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा संचालन गर्ने तयारी गरेको छ ।
मेची प्रादेशिक अस्पतालमा प्राइमरी वर्न केयर सेन्टर तथा मानसिक स्वास्थ्य वार्ड संचालन गर्न बजेट विनियोजन भएको छ । यस्तै ताप्लेजुङ, धनकुटा, दमक अस्पताल र मदनभण्डारी ट्रमा सेन्टरको स्तर उन्नति गरी गुणस्तरिय स्वास्थ्य सेवामा नागरिकहरुको सहज पँहुच बृद्धि गर्न २९ करोड रमक विनियोजन भएको छ ।
सुत्केरी महिलाका लागि पोषण आहार कार्यक्रममा ५ करोड विनियोजन गरेको प्रदेश सरकारले किशोर किशोरीको यौन तथा प्रजनन एवं मानसिक स्वास्थ्य लगायत समग्र पक्षमा सुधार गरी स्वस्थ नागरिक बनाउने उद्देश्यका साथ प्रत्येक स्थानीय तहका एउटा माध्यमिक विद्यालयमा संचालित विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।