Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राप्रपालाई प्रश्न : कोशीमा मुख्यमन्त्रीको प्रस्ताव आएको हो ?



विराटनगर : नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेसँगै सरकारको भविष्यलाई लिएर अनेक अड्कलबाजि सुरु हुन थालेको छ । खासगरी सरकारमा रहेको नेकपा माओवादी र जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँग‌ै सरकार अल्पमतमा परेको हो ।

सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेस र माओवादी आफ्नो नेतृत्वको सरकार बनाउन जोडबलका साथ लागिपरेका छन् ।

अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनलाई राप्रपाको समर्थन भने जारी छ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला उद्योग, कृषि तथा सहकारी मन्त्री छन् । राप्रपासहित मुख्यमन्त्रीको पक्षमा ४६ सांसद छन् । कोशीमा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ ।

उता विपक्षी दलहरूसँग सभामुखसहित ४७ सांसद छन् । सभामुखले बराबर मत हुँदा मात्र  निर्णायक मत हाल्न पाउछन् ।

विपक्षी गठबन्धन भने जुनै हालतमा एमालेको हातबाट सत्ता फुत्काउने दाउमा छ । सरकार ढाल्न उनीहरूले एमाले नेतृत्वको सरकारमा रहेको राप्रपालाई मुख्यमन्त्रीको आश्वासन दिएको चर्चा पनि बाहिर आउन थालेको छ ।

तर, राप्रपाले भने मुख्यमन्त्रीको प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ । एमाले नेतृत्वको सरकार ढाल्न लागिपरेको विपक्षी गठबन्धनले तपाईंहरुलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको हो ? भन्ने प्रश्नमा राप्रपाका सांसद अम्बरबहादुर बिष्ट त्यस्तो कुनै प्रस्ताव नआएको दाबी गर्छन् ।

राप्रपा सरकार परिवर्तनको खेलमा नरहेको उनको भनाइ छ । उन‌ै बिष्टसँग सरकारले बुधबार प्रदेशसभामा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र सरकारको भविष्यका विषयमा पूर्वेलीप्रेसले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको संक्षिप्त संपादित अंश :

प्रदेशसभामा सरकार अल्पमतमा छ । अहिलेको सरकारसँग बहुमत पुग्ने संख्या पनि छैन् । विपक्षी गठबन्धनलाई पनि संख्या पुर्‍याउन धौधौ छ, तपाईंको पार्टी निर्णायक अवस्थामा पनि छ । यस्तो अवस्थामा राप्रपा कसरी अघि बढ्छ ?
पहिलो कुरा त, राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले सरकार परिवर्तनको खेलमा छैन । हामीलाई यता छाडेर उता गइहाल्नुपर्ने त्यस्तो केही समस्या छैन् । यही सरकारको निरन्तरता अहिलेको हाम्रो बटमलाइन हो ।

हिजो हामी चुनावदेखि नै एमालेसँग सहकार्य गरिरहेका छौं । त्यसकारणले एमाले नेतृत्वको सरकार नै हाम्रो पहिलो प्राथमिकता हो ।

बाहिर त राप्रपालाई मुख्यमन्त्रीको प्रस्ताव आएको भन्ने चर्चा चलिरहेको छ, साँच्चै प्रस्ताव आएको हो ?

बाहिर त जे पनि चर्चा चल्छ । हामीलाई तपाईंहरुको दलले सरकारको नेतृत्व गर्नुपर्छ वा राप्रपाबाट मुख्यमन्त्री बन्नुपर्छ भनेर आधिकारिक रुपमा कुनै त्यस्तो प्रस्ताव आएको छैन ।

आयो भने नि ?
अहिले आएको छैन । प्रस्तावनै नआएको विषयमा धेरै कुरा नगरौं । यदि प्रस्ताव आइहाल्यो भने त्यतिबेला सोचौंला ।

सरकारले बुधबार प्रदेशसभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने भनेको छ । नीति कार्यक्रम पास गर्न सरकारसँग बहुमत पुग्दैन नि ?

त्यस विषयमा माननीय मुख्यमन्त्री ज्युले केही विचार गर्नुभएको होला । हामी हाम्रोतर्फबाट सहयोग गर्छौं । हामीसँग प्रदेशसभामा ६ जना माननीयहरु हुनुहुन्छ, हामी सरकारको पक्षमा छौं ।

सरकारमा सहभागी दुई दलले समर्थन फिर्ता लिएका छन् । यदि सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेर सरकार ढल्ने अवस्था आयो भने राप्रपा के गर्छ ?
हामी यही सरकारलाई विश्वासको मत दिन्छौं । यही सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा हामीभित्र दुई मत छैन । तर, सरकारले ३० दिनभित्र विश्वासको मत लिन सकेन भने त्यसबेला कस्तो परिस्थिति आउँछ त्यही अनुसार चल्छौ । पार्टी केन्द्रबाट पनि केही निर्देशन आउला नि, के गर्ने भन्ने विषयमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार